

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले जेनजी आन्दोलन सुशासन कायम र भ्रष्टाचार अन्त्य गर्न भएको बताएका छन्।

उनले रास्वपा र काठमाडौँ महानगरका प्रमुख बालेन साहबीच भएको एकतालाई अन्यथा लिन नहुने बताएका छन्।

लोकतान्त्रिक प्रक्रियामा राजनीतिक दलहरू मिल्ने र विभाजन हुनुलाई अनौठो मान्न नहुने उनको भनाइ छ। उनले आगामी निर्वाचनलाई लक्षित गरेर रास्वपा र प्रमुख साहले पनि एकताको घोषणा गरेको उल्लेख गरे।

उनले नेपालको लोकतान्त्रिक प्रक्रियालाई पारदर्शी र स्वच्छ बनाउन, संवैधानिक प्रक्रियालाई सही बाटोमा ल्याउन नेकपा एमाले तयार रहेको उनको भनाइ छ। उनले पवित्र उद्देश्यले भदौमा भएको जेनजी आन्दोलनलाई कसैले हाइज्याक गर्न सक्ने भन्दै जेनजी अगुवालाई सजग रहन आग्रह गरे।
भट्टराईले भने, ‘नेकपा एमाले कुनै पनि चुनौतीसँग सामना गर्न तयार छ। भदौ २३ गते भएको जेनजी आन्दोलन हाम्रा नवपुस्ताको आन्दोलन र जागरण थियो। त्यो जागरण सुशासन र भ्रष्टाचार अन्त्य गर्न थियो, सामाजिक सञ्जाल खोल्नुपर्ने सँग थियो। यी पवित्र माग हुन्।’
भट्टराईले एमाले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी तयारीमा लागेको पनि बताए। उनले आन्तरिक पार्टी एकतलाई बलियो बनाउने गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह समेत गरे।
उनले चुनावको तयारीका लागि पार्टीभित्रका आन्तरिक मतभेदलाई थाती राखेर सबै एकजुट हुन आवश्यक रहेको बताए।

