

विराटनगर – भारतबाट अवैध रूपमा रकम ल्याएको आरोपमा प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ । विराटनगर–६ का ४९ वर्षीय अरविन्द अग्रवाल स्रोत नखुलेको ६ लाख रूपैयाँसहित आइतबार बिहान ११:३० बजेतिर अग्रवाललाई पक्राउ गरेको हो ।

अग्रवाल सुनसरी ट्रेडिङ सेन्टर नामक पेट्रोलपम्पका सञ्चालक रहेको प्रहरीले जनाएको छ । भारतबाट नेपाल प्रवेश गरेको प्रदेश नम्बर १–०४–००१ च ०१६४ नम्बरको सेतो कारलाई प्रहरीले निगरानी गरिरहेको थियो । रानीबाट विराटनगरतर्फ आउँदै गरेको उक्त कार सुनसरी ट्रेडिङ सेन्टर (पेट्रोलपम्प) अगाडि रोकियो ।
कारबाट ओर्लिएर कालो प्लास्टिकको पोका बोकी पेट्रोलपम्पको अफिसतर्फ भाग्न खोज्दा अग्रवाललाई नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । उनका अनुसार अग्रवालको साथबाट स्रोत नखुलेको १ हजार दरका ४ सय थान, ५ सय दरका ३ सय ६० थान र १ सय दरका २ सय थान गरी जम्मा ६ लाख रुपैयाँ बरामद भएको छ ।

बरामद भएको रकम अवैध हुण्डी कारोबारको भएको हुन सक्ने प्रहरीको अनुमान छ । अग्रवाल, उनी सवार कार र बरामद गरिएको नगदमाथि अनुसन्धान सुरु गरेको छ ।


