Aamsanchar

सामाजिक सञ्जालबाट संसदतर्फ ? आशिका तामाङको राजनीतिक प्रवेशबारे जनमत प्रयोग

Author Image
आइतवार, पौष १३, २०८२

बिर्तामोड । सामाजिक अभियन्ता आशिका तामाङ सक्रिय राजनीतिमा प्रवेश गर्ने तयारीमा देखिएकी छन्। नागरिक सहभागितालाई केन्द्रमा राख्दै उनले राजनीतिमा आउने–नआउने विषयमा प्रत्यक्ष जनमत लिने अभ्यास सुरु गरेकी छन्, जुन नेपाली राजनीतिक परम्परामा नयाँ प्रयोगका रूपमा हेरिएको छ।

तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको भोटिङ पोलमा सहभागीमध्ये ९३ प्रतिशतले राजनीतिमा आउनुपर्ने सुझाव दिएका छन् भने ७ प्रतिशतले नआउनु उपयुक्त हुने मत व्यक्त गरेका छन्। यो मत परिणामले उनको सम्भावित राजनीतिक यात्राप्रति जनस्तरमा उत्साह र भरोसा देखिएको संकेत गर्छ।

फेसबुकमा प्रतिक्रिया दिँदै तामाङले करिब सात वर्षअघि सुरु गरेको सरसफाइ अभियानलाई पनि जनमतकै आधारमा संस्थागत गरेको स्मरण गराएकी छन्। उनले लेखेकी छन— “त्यसबेला पनि यहाँहरूकै भोटिङ पोलबाट आएको निर्णयलाई सम्मान गर्दै फाउन्डेसन स्थापना गरेको थिएँ।”
उनका अनुसार जनताको सुझावलाई निर्णय प्रक्रियामा समेट्ने अभ्यास नै आफ्नो कार्यशैलीको मूल आधार हो।

उही अभ्यासलाई निरन्तरता दिँदै तामाङले अब आगामी संसदीय निर्वाचनमा उम्मेदवारी दिने कि नदिने, साथै प्रत्यक्ष निर्वाचन प्रणालीबाट अघि बढ्ने कि समानुपातिक प्रणालीमार्फत राजनीतिक प्रवेश गर्ने भन्ने विषयमा समेत सर्वसाधारणसँग सुझाव मागेकी छन्।

राजनीतिमा प्रवेश गर्नुअघि नै जनताको धारणा बुझ्ने उनको कदमलाई डिजिटल लोकतन्त्र र सहभागितामूलक राजनीतितर्फको संकेतका रूपमा विश्लेषकहरूले लिएका छन्। पछिल्लो समय परम्परागत दल र नेताप्रति बढ्दो असन्तुष्टिका बीच सामाजिक अभियन्ता र स्वतन्त्र व्यक्तित्वहरू राजनीतिमा आकर्षित हुँदै गएको सन्दर्भमा तामाङको सम्भावित प्रवेश अर्थपूर्ण मानिएको छ।

सामाजिक सञ्जालबाट जनसमर्थन निर्माण गर्दै संसदसम्म पुग्ने उनको तयारीले नेपाली राजनीतिमा नेतृत्व निर्माणको नयाँ ढोका खुल्न सक्ने विश्लेषण गरिएको छ । अब उनले जनमतलाई कसरी औपचारिक राजनीतिक निर्णयमा रूपान्तरण गर्छिन् भन्ने विषय चासोको केन्द्रमा रहने देखिन्छ ।

Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर