

विराटनगर – गाँजा लोड गरिएको एम्बुलेन्सलाई नियन्त्रणमा लिन प्रहरीले मोरङमा आइतबार राति गोली चलाएको छ। गोली हानेर एम्बुलेन्सलाई नियन्त्रणमा लिएपछि गाँजा ओसारपसारका लागि एम्बुलेन्स प्रयोग गरिएको गम्भीर घटना सार्वजनिक भएको छ। गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नु परेको हो। केराबारी गाउँपालिका–५ लाफा टोलमा राति करिब ११ बजेतिर भएको घटनामा १६ पोका गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ।

धनकुटाबाट मोरङतर्फ एम्बुलेन्समार्फत गाँजा ल्याइँदैछ भन्ने सूचना प्राप्त हुनसाथ नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय केराबारीको संयुक्त टोली परिचालन गरिएको थियो। इन्स्पेक्टर राजीव गिरी र असई फजिन्द्र तोलाङ्गीको नेतृत्वमा खटिएको संयुक्त टोलीले प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई शंकास्पद अवस्थामा देखेर रोकेको थियो।

प्रहरीले रोक्नसाथ एम्बुलेन्समा सवार व्यक्तिहरू भाग्न खोजेपछि नियन्त्रणमा लिन असई तोलाङ्गीले चाइनिज पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेका थिए। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार भाग्न खोजेका दुवै जनालाई गोली चलाएर भए पनि नियन्त्रणमा लिन प्रहरी सफल भएको छ। पक्राउ पर्नेमा एम्बुलेन्स चालक धनकुटाको सहिदभूमि गाउँपालिका–६ का ३५ वर्षीय निश्चल राई र एम्बुलेन्समै सवार साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बू रहेका छन्।
एम्बुलेन्स खानतलासी गर्दा १६ वटा पोकामा प्याक गरेर राखिएको अवस्थामा गाँजा बरामद भएको एसपी कटवालले बताए। गाँजाको तौल लिन बाँकी रहे पनि प्रारम्भिक अनुमान अनुसार ४ सय ८० किलोभन्दा बढी रहेको प्रहरीको भनाइ छ। नियन्त्रणमा लिइएको एम्बुलेन्स धनकुटाको सहिदभूमि गाउँपालिका–१ खाल्सा–छिन्ताङस्थित सूर्यबहादुर थापा प्रतिष्ठानको नाममा दर्ता भई सञ्चालनमा रहेको पाइएको छ।
प्रहरीका अनुसार धनकुटाबाट मोरङ हुँदै भारततर्फ गाँजा तस्करी गर्ने उद्देश्यले एम्बुलेन्स प्रयोग गरिएको हुनसक्ने आशंका छ। बरामद गाँजा, एम्बुलेन्स र पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ। उनीहरूविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ। बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।
एम्बुलेन्सजस्तो आपतकालीन र संवेदनशील सेवाको साधनलाई लागुऔषध तस्करीमा प्रयोग गर्नु गम्भीर अपराध भएको उल्लेख गर्दै एसपी कटवालले यसले गाँजा ओसारपसार गर्ने गिरोह संगठित रूपमा सक्रिय रहेको संकेत गर्ने बताए। उनले लागुऔषध ओसारपसार, एम्बुलेन्सको दुरुपयोग र यसमा संलग्न नेटवर्क पत्ता लगाउन विस्तृतमा अनुसन्धान भइरहेको जानकारी दिए।
मोरङको जहदा गाउँपालिका–२ तारिगामामा पनि शनिबार राति प्रहरीले हवाई फायर गर्दै गाँजा ओसारपसारमा संलग्न दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो। उक्त घटनामा २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई नियन्त्रणमा लिँदै ३ सय ३० किलो गाँजा प्रहरीले बरामद गरेको थियो। लागुऔषध नियन्त्रणका लागि कठोर हिसाबले प्रहरी प्रस्तुत भएको जानकारी दिँदै एसपी कटवालले यस किसिमका गैरकानुनी गतिविधिमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेका छन्।


