

काठमाडौं –उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत डाक्टर तथा गायिका त्रिशला गुरुङलाई उमेदवारका रूपमा सिफारिस गरेको छ ।

पार्टीले स्वास्थ्य क्षेत्र सुधार, समावेशी राजनीति र पेशागत दक्षताका आधारमा डा। गुरुङलाई समानुपातिक उम्मेदवारको सूचीमा अघि सारेको पार्टी प्रवक्ता राजु थापाले बताए ।
पार्टीका अनुसार हालको स्वास्थ्य प्रणालीमा देखिएको असमान पहुँच, बढ्दो उपचार खर्च, ग्रामीण क्षेत्रमा स्वास्थ्य जनशक्ति अभाव र स्वास्थ्य बजेटको प्रभावहीन कार्यान्वयन प्रमुख चुनौतीका रूपमा रहेका छन् ।

डा. गुरुङको चिकित्सकीय अनुभव र नीतिगत बुझाइले संसदमा यी समस्यामाथि व्यावहारिक र प्रमाणमा आधारित बहस अघि बढाउने विश्वास पार्टीले व्यक्त गरेको छ । समानुपातिक उमेदवारमा सिफारिस भएसँगै डा। गुरुङले ‘स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार हो’ भन्ने मूल्यलाई केन्द्रमा राख्दै, सुशासन, समावेशी नीति निर्माण र जनउत्तरदायी स्वास्थ्य प्रणालीका लागि संसद्मा दृढ रूपमा आवाज उठाउने प्रतिबद्धता जनाएकी छन् ।

