Aamsanchar

अत्यधिक चिसोका कारण एक सडक मानवको मृत्यु

Author Image
सोमवार, पौष १४, २०८२

सुनसरी – सुनसरीको धरानमा अत्यधिक चिसोका कारण एक सडक मानवको मृत्यु भएको छ। धरान उपमहानगरपालिका–८ स्थित कञ्चनजंगा होटल नजिकै सडकको नालीमा खसेर सुरज नाम गरेका एक सडक मानवको ज्यान गएको छ।

सोमबार बिहान नालीमा एक जनाको शव देखेपछि स्थानीले प्रहरीलाई खबर गरेका थिए। त्यसपश्चात घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय धरानको टोलीले घटनास्थलको मुचुल्का गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा अत्यधिक चिसोका कारण शरीर कठ्याङ्ग्रिएर सुरजको मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरले जानकारी दिएका छन्। उनले सुरज लामो समयदेखि सडक पेटीमै बस्दै आएका थिए र जाडोबाट जोगिन पर्याप्त न्यानो कपडा नहुँदा सुरजको मृत्यु भएको बताए।

मृतक सुरज पहाडी जिल्लाबाट धरान आइ गाडी चलाउने काम गर्दै आएका व्यक्ति भएको प्रहरीको भनाइ छ। उनी मादक पदार्थ सेवनको कुलतमा फसेपछि उनी पारिवारिक तथा सामाजिक सम्पर्कबाट टाढिँदै सडक जीवनमा पुगेको बताइएको छ। पछिल्लो समय उनी कबाडी संकलन गरी बिक्री गरेर दैनिक जीविकोपार्जन गर्दै आएका थिए। हाल धरान क्षेत्रमा चिसो अत्यधिक बढेकाले सडक मानव, ज्येष्ठ नागरिक तथा विपन्न वर्ग बढी जोखिममा परिरहेका छन्।

प्रहरीले सुरजको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइसकेको छ। पोस्टमार्टम रिपोर्टपछि मृत्युको वास्तविक कारण थप पुष्टि हुने प्रहरीले बताएको छ। यस घटनाले चिसो मौसममा सडक मानवको सुरक्षा तथा व्यवस्थापनमा स्थानीय सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको स्थानीय रमेश रोदुङ राईले बताए। उनले चिसोबाट बचाउन असहाय व्यक्तिहरूका लागि तत्काल राहत तथा संरक्षणको व्यवस्था गर्न माग गरेका छन्।

Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर