Aamsanchar

ताप्लेजुङमा मतदाताको सङ्ख्या नब्बे हजार नाघ्यो

Author Image
सोमवार, पौष १४, २०८२

ताप्लेजुङ- ताप्लेजुङमा मतदाताको सङ्ख्या नब्बे हजार नाघेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ताप्लेजुङमा कुल ९० हजार ३२७ मतदाता हुने भएको हो ।

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली विवरणअनुसार आउँदो निर्वाचनमा उक्त मतदाता सङ्ख्या कायम भएको हो । आगामी प्रतिनिधिसभा सदस्यका लागि कायम हुने कुल मतदाता सङ्ख्यामध्ये ४८ हजार २८५ पुरुष मतदाता र ४२ हजार ४२ जना महिला रहेका छन् ।

यसअघि २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा ताप्लेजुङमा ८८ हजार २८५ मतदाता रहेका थिए । गत २०७९ सालको निर्वाचनमा भन्दा यसपटक जिल्लामा दुई हजार ४२ बढी मतदाता थपिएका छन् ।

जिल्लाका नौ स्थानीय तहमध्ये थपिएका अर्थात आगामी निर्वाचनमा सबैभन्दा फुङ्लिङ नगरपालिकामा १८ हजार १९० मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बान्दवराज दुलाल (विपिन) ले जानकारी दिनुभयो । दुलालका अनुसार सबैभन्दा न्यून मिक्वाखोला गाउँपालिकामा छ हजार ९४८ जना मतदाता कायम भएका छन् ।

जिल्लाको सिरिजङ्घा गाउँपालिकामा ११ हजार ६६४, सिदिङ्वा गाउँपालिकामा आठ हजार ९१५ र पाथीभरा याङ्वरक गाउँपालिकामा नौ हजार ७४१ मतदाता रहेका छन् । त्यस्तै आठराई त्रिबेणी गाउँपालिकामा नौ हजार ५०१, फक्ताङ्लुङ गाउँपालिकामा नौ हजार ३००, मेरिङ्देन गाउँपालिकामा आठ हजार ६१२ र मैवाखोला गाउँपालिकामा सात हजार ४५६ मतदाता कायम भएका छन् ।

यता आउँदो निर्वाचनका लागि ताप्लेजुङमा समान पाँचरपाँच वटा मतदानस्थल र मतदान केन्द्र थप भएको छ । थप भएसँगै मतदानस्थल ८० र मतदान केन्द्रको सङ्ख्या १२८ पुगेको छ । यसअघि ७५ मतदानस्थल र मतदान केन्द्र १२३ रहेको थियो ।

Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर