Aamsanchar

निवर्तमान गृहमन्त्री लेखकको आयोगसमक्ष बयान : सुरक्षाकर्मीलाई आवश्यकता भन्दा बढी बल प्रयोग गर्न निर्देशन दिएको थिइनँ

Author Image
सोमवार, पौष १४, २०८२

काठमाडौं –  निवर्तमान गृहमन्त्री रमेश लेखकले सोमबार जेनजी आन्दोलनका घटनाको अनुसन्धान गर्न गठित जाँचुबुझ आयोगसमक्ष बयान दिएका छन्। सोमबार सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेर उनले जेनजी घटनाबारे आफ्नो धारणा स्पष्ट पारेका हुन्।

उनले भाद्र २३ गतेको जेनजी समूहको प्रदर्शनमा सुरक्षाकर्मीलाई आवश्यकताभन्दा बढी बल प्रयोग गर्न निर्देश नदिएको बयान दिएका छन् । ‘भाद्र २३ गतेको प्रदर्शनका बारेमा पनि मैले गृहमन्त्रीको हैसियतले त्यही गरेको हुँ । केन्द्रीय सुरक्षा समितिको बैठकमा आवश्यकता भन्दा बढी बल प्रयोग गर्ने कुनै निर्णय वा योजना भएको छैन । त्यसो गर्ने न कानुनी व्यवस्था छ, नत अभ्यास नै छ,’उनले बयानमा भनेका छन्।

केन्द्रीय सुरक्षा समितिको बैठकमा सबै सुरक्षा निकायले आफूसँग भएको सूचनाबारे जानकारी गराएपछि प्रदर्शनका विषयमा छलफल र विश्लेषण भएको उनको भनाइ छ। ‘बैठकले सबै सुरक्षा निकायबीच समन्वय गरी शान्ति सुरक्षा कायम गर्ने निष्कर्ष निकाल्यो ।

शान्ति सुरक्षाका सम्भावित चुनौतीका सन्दर्भमा गृह मन्त्रालयको राजनीतिक नेतृत्वको हैसियतमा मन्त्री स्वयं अध्यक्ष भएको केन्द्रीय सुरक्षा समितिको बैठक मार्फत मैले मन्त्रालय र सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिसंग जानकारी लिने, परिस्थितिको विश्लेषण गर्ने र त्यस अनुरुप शान्ति सुरक्षा कायम गर्ने एवं कुनै क्षति नहोस् भनी आवश्यक सतर्कता अपनाउने र समन्वय गर्ने विषयमा निर्देशन दिने हो । मसँग सूचनाको छुट्टै स्रोत थिएन । गृह प्रशासन र सुरक्षा निकायबाट उपलब्ध हुने सूचनाको आधारमा नै मन्त्रीले निर्देशन दिने र समन्वय गर्ने हो,’बयानमा भनेका छन्।

सुरक्षा निकायलाई त्यसदिन आफूले गृहमन्त्रीको हैसियतले प्रदर्शनमा घुसपैठ हुन सक्छ, शतर्कता अपनाउनु होला भनेर निर्देशन दिएको बताएका छन्। ु सुरक्षा निकायलाई त्यसदिन आफूले गृहमन्त्रीको हैसियतले तीनवटा कुरा भनेको थिए। पहिलो कुनै हताहति ( क्याजल्टी) नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस् । यसबारेमा सचेत रहनु होला, सावधानी अपनाउनु होला । दोस्रो, समन्वयात्मक रुपमा शान्ति सुरक्षाको उचित प्रवन्ध मिलाउनु होला । तेस्रो, यो कुनै राजनीतिक समूहको प्रदर्शन नभएकाले नेतृत्व विहीन हुन सक्छ । प्रदर्शनमा घुसपैठ पनि हुन सक्छ, शतर्कता अपनाउनु होला । मैले बैठकमा दिएको निर्देशनको सार मात्रै हो ।’

लेखकले प्रदर्शनमा व्यापक घुसपैठ र लोकतन्त्र विरोधी तत्वहरूले हाइज्याक गरेको दावी गरेका छन्। ‘काठमाडौं जिल्ला प्रशासनबाट प्राप्त जानकारी अनुसार शान्तिपूर्ण प्रदर्शन हुन्छ भन्ने विश्वास आयोजकले दिलाएका थिए । तर, प्रदर्शनमा व्यापक घुसपैठ भयो । जेन–जीको प्रदर्शनलाई लोकतन्त्र बिरोधी तत्वहरुले हाइज्याक गरे ।

संसद्भवन, नयाँ बानेश्वर परिसरमा हिंसात्मक घटना भएपछि जेन– जी अगुवाहरूले सामाजिक सञ्जालमार्फत सन्देश पठाए,’ हाम्रो आन्दोलन सफल भएको छ ।’ यसलाई हाइज्याक गरेर हिंसात्मक बनाइदैछ। साथीहरु आ(आफ्नो घर फर्किनुस्,ुलेखकले बयानमा भनेका छन् ,’धमिलो पानीमा माछा मार्न चाहनेु तत्वले जेन–जीको भावनामाथि खेलेर सुनियोजित रुपमा शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनायो ।’

Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर