Aamsanchar

होमलेस बनेका एक नेपाली विद्यार्थीलाई उद्धार गरेर नेपाल पठाइयो

Author Image
मङ्गलवार, पौष १५, २०८२

लन्डन – लन्डनमा होमलेस बनेका एक नेपाली विद्यार्थीलाई उद्धार गरेर नेपाल पठाइएको छ ।

गत नोभेम्बर २५, २०२४ मा युनिभर्सिटी अफ सन्डरल्याण्डमा बीए अनर्स पढ्न आएका पनौती काभ्रेपलान्चोकका २१ वर्षीय आदर्श थापालाई एनआरएनए यूकेको सहयोगमा नेपाल पठाइएको हो ।

 

युनिभर्सिटीले फि नतिरेको भन्दै होम अफिस (गृह मन्त्रालय)लाई अवगत गराएर उनको भिजा रद्द भएपछि पार्टटाइम कामसमेत गुमेपछि उनी संकटमा परेका थिए ।

घरबेटीले समेत कोठाबाट निकालिदिएपछि एक साता घरविहीन (होमलेस) भएर रेल स्टेशनमा बसिरहेका बेला उनले एनआरएनए यूकेलाई सहयोग याचना गर्दै समपर्क गरे । त्यसपछि एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनी, विद्यार्थी विभागका संयोजक विष्णु भट्टराई र खेलकुद विभागका सहसंयोजक प्रमोद भण्डारीले उनलाई भेटी तीन दिनसम्म एक होटलमा राखिदिएर शनिबार नेपाल फर्कन सहयोग गरे ।

एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनी संघले परिवारसँग समन्वय गरेर उनलाई नेपाल फर्कन सक्दो मद्दत गरेको बताउँछन् ।‍ ‘अण्डरग्रयाजुएट विद्यार्थीलाई परिस्थिति निकै गाह्रो रहेछ । युनिभर्सिटीको महँगो फि तर जागिर नपाउने समस्याले म फर्कन बाध्य भएँ’, उनले भने, ‘राम्रो पढ्छु, कमाइ पनि होला भन्ने अपेक्षा थियो । तर, रियालिटी फरक रहेछ । नेपालका कन्सल्टेन्सीहरुले काम मज्जाले पाइन्छ भनेर ढाँटे, मेरो यहाँ बिजोक भयो ।’

आदर्शले अण्डरग्रयाजुएट पढ्न नआउन, आएपनि मास्टर्स अध्ययनका लागि रिसर्च गरेरमात्र आउन सुझाएका छन् । ‘कन्सल्टेन्सीले त कमिशन आउँछ भनेर पठाइहाल्छन् तर विद्यार्थीले आउनु अगाडि आफैं रिसर्च गर्नु, युनी वरपर काम, कोठा पाइन्छ कि पाइँदैन् बुझेर मात्र आउनु नत्र मेरो जस्तो बेहाल हुन्छ’, उनले भने ।

बेलायतमा ‘फ्रिडम’ ज्यादा हुँदा धेरै नेपाली विद्यार्थी कुलतमा लागेको उनको अनुभव छ । ‘मेरै रुम मेट साथीहरु समेत दुर्व्यसनमा परेका छन् । केटामात्र होइन्, केटी साथीहरु पनि बिग्रिएका छन्’, उनले भने ।

Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर