Aamsanchar

१३ जिल्लाको प्रतिनिधित्व छैन कांग्रेसको बन्दसूचीमा

Author Image
बुधवार, पौष १६, २०८२

काठमाडौं – नेपाली कांग्रेसको प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीमा १३ जिल्लाको प्रतिनिधित्व नभएको पाइएको छ । कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा ६४ जिल्लाको मात्रै प्रतिनिधित्व छ ।

बन्दसूचीमा समावेश नामअनुसार सबैभन्दा बढी बागमती प्रदेशका चार जिल्लाबाट कसैलाई पनि उम्मेदवार बनाइएको छैन । यस्तै कोशी र गण्डकी प्रदेशबाट तीन(तीन, लुम्बिनीका दुई तथा कर्णालीको एक जिल्लाले कांग्रेसको बन्दसूचीमा स्थान पाएको छैन ।

कांग्रेसले बागमतीका ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र चितवन, कोशीका धनकुटा, ओखलढुंगा र खोटाङ, गण्डकीका मनाङ, म्याग्दी र लमजुङ, लुम्बिनीका पूवी रूकुम र प्युठान तथा कर्णालीको जुम्लाबाट कसैलाई पनि समानुपातिकतर्फको उम्मेदवार बनाएको छैन ।

कांग्रेसको बन्दसूचीमा मधेश र सुदूरपश्चिम प्रदेशबाट भने सबै जिल्लाको प्रतिनिधित्व भएको देखिन्छ ।

मधेश प्रदेशको धनुषा जिल्लाबाट ६ जना, बाराबाट तीन, सप्तरीबाट तीन, महोत्तरीबाट दुई, रौतहटबाट दुई, सर्लाही, सिरहा र पर्साबाट एक–एक जना कांग्रेसको बन्दसूचीमा परेका छन् ।

बन्दसूचीमा धनुषाबाट सिफारिसमा परेका डा. चन्द्रमोहन यादवको नाम दोहोरिएको देखिन्छ । उनी प्रथम राष्ट्रपति डा। रामवरण यादवका छोरा हुन् ।

सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलाली र कञ्चनपुरमा दुई–दुई जना बन्दसूचीमा पर्दा कांग्रेसले बाँकी सात जिल्लाबाट एक–एक जनाको प्रतिनिधित्व गराएको छ ।

कांग्रेसको बन्दसूचीमा कैलालीका यज्ञनिधि कोइराला र रिताकुमारी चौधरी, कञ्चनपुरका तौला राना र कल्पना केसीको नाम सिफारिस भएको छ ।

यस्तै सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराबाट हरिना कामी, प्रदेश सभापति वीरबहादुर बलाययरको गृहजिल्ला डोटीबाट प्रसिस महरा, सहमहामन्त्री बद्री पाण्डेको गृहजिल्ला बाजुराबाट विद्यादेवी तिमिल्सिनाको नाम बन्दसूचीमा छ ।

दार्चुलाका करवीरसिंह कार्की, बैतडीका दीपेन्द्रबहादुर बम, अछामका टेकबहादुर विक र बझाङका सुन्दर स्नेहीको पनि नाम बन्दसूचीमा समावेश छ ।

Views: 60

प्रतिक्रिया (०)