Aamsanchar

विद्यार्थीको भविष्यसँग खेलवाड : बिर्तामोडको जेडी इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीको पोल खुल्यो

Author Image
बुधवार, पौष १६, २०८२

झापा ।  अन्तर्राष्ट्रिय स्तरको फेसन डिजाइन शिक्षा दिने झूटा सपना देखाएर बिर्तामोडमा सञ्चालन गरिएको जेडी इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (जेडीआईएफटी) ले विद्यार्थीको भविष्यसँग गम्भीर खेलवाड गरेको तथ्य सार्वजनिक भएको छ। आकर्षक प्रचार, भड्किलो दाबी र भ्रमपूर्ण आश्वासनका आधारमा विद्यार्थी भर्ना गरिए पनि व्यवहारमा भने ती प्रतिबद्धता कागजमै सीमित रहेको पाइएको छ।

भारतको शिलगढीलाई मुख्य केन्द्र बताउँदै जेडीआईएफटीले फेसन डिजाइन, टेक्सटाइल, स्टाइलिङ र इन्टेरियर डिजाइनजस्ता विषयमा तीन वर्षे डिप्लोमा तथा डिग्री तहको पढाइ गराउने दाबी गर्दै आएको थियो। अन्तर्राष्ट्रिय पाठ्यक्रम, अत्याधुनिक प्रायोगिक कक्षा, इन्डस्ट्रियल एक्सपोजर र रोजगारीको सुनिश्चिततासमेतको प्रचार गरिएको थियो। यही प्रचारको भरमा झापाका अभिभावक र विद्यार्थी ठूलो रकम खर्च गरेर कलेजमा भर्ना हुन बाध्य बने।

तर बिर्तामोड शाखामा ती दाबीअनुसारको पूर्वाधार, दक्ष जनशक्ति र शैक्षिक संरचना नदेखिएको विद्यार्थीहरूको गुनासो छ। न त अन्तर्राष्ट्रिय मान्यताबारे स्पष्ट प्रमाण प्रस्तुत गरिएको छ, न त वाचा गरिएका प्रायोगिक कक्षा र उद्योगसँगको समन्वय नै कार्यान्वयन भएको देखिन्छ। परिणामतः विद्यार्थीहरू प्रमाणपत्रको वैधता, भविष्यको करिअर र लगानी गरिएको रकमबारे अन्योलमा परेका छन्।

शिक्षाजस्तो संवेदनशील क्षेत्रमा यसरी व्यापारिक स्वार्थ हावी गर्दै भ्रम फैलाउने कार्य गम्भीर आपराधिक प्रवृत्ति भएको सरोकारवालाहरूको भनाइ छ। सम्बन्धित निकायको निगरानी अभाव र ढिलासुस्तीका कारण यस्ता संस्थाले खुलेआम विद्यार्थीको भविष्य बन्धक बनाइरहेको भन्दै तत्काल छानबिन र कडा कारबाहीको माग उठ्न थालेको छ।

Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर