बिर्तामोडमा सम्पन्न नगरस्तरीय अन्तरविद्यालय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा निदि माध्यमिक विद्यालयले समग्र उपाधि जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ।

बिर्तामोड नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा वडा नम्बर २ स्थित निदि माविले १७ स्वर्ण, ८ रजत र ५ कास्य पदकसहित प्रथम स्थान हासिल गरेको हो। वडा नम्बर १० को महेन्द्रज्योति माध्यमिक विद्यालय ७ स्वर्ण, ५ रजत र ४ कास्यसहित दोस्रो हुँदा वडा नम्बर ३ को महेन्द्ररत्न माध्यमिक विद्यालय ६ स्वर्ण, ९ रजत र ७ कास्य पदकका साथ तेस्रो भएको छ।

प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः १५ हजार, १२ हजार र १० हजार रुपैयाँ नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ। नगरपालिकाले यस वर्षदेखि विजेता विद्यालयका लागि रनिङ शिल्डको व्यवस्था समेत गरेको छ।
पुरस्कार वितरण समारोहमा नगरप्रमुख पवित्रादेवी महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारीलगायतको उपस्थिति रहेको थियो।

पुस १३ गतेदेखि वडा नम्बर ८ स्थित सेन्ट जेभियर्स स्कुलको मैदानमा सञ्चालन भएको प्रतियोगितामा बिर्तामोड नगरपालिकाभित्रका ३९ विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थीले कराते, उसु, तेक्वान्दो, एथलेटिक्स, भलिवल र कबड्डी विधामा प्रतिस्पर्धा गरेका थिए।

