नेपालमा सत्ता बदलिन्छ, अनुहार बदलिन्छ, तर व्यवहार कहिल्यै बदलिँदैन। हिजोका विरोधी आजका शासक हुन्छन्, आजका क्रान्तिकारी भोलिका ठेकेदार बन्छन्। परिवर्तनको नारा पुरानो हुन्छ, तर भोक नयाँ हुँदैन। किनकि जनता जति नै ठूलो भाषण सुने पनि, अन्ततः खाने भात नै हो र जाने घाट नै हो।

हामीलाई बारम्बार भनिन्छ—देश विकासको बाटोमा छ। तर त्यो विकास कुन नक्सामा छ, जनताको थालमा किन देखिँदैन, यो प्रश्न सोध्नु यहाँ “अराजकता” ठहरिन्छ। सिंहदरबार वरिपरि समृद्धि छ, तर गाउँमा अझै आशा अनुदानको लाइनमा उभिन्छ। राजधानी चम्किन्छ, तर छेउछाउको अन्धकारलाई ‘समायोजन’ भनेर ढाकछोप गरिन्छ।

राजनीति यहाँ सेवा होइन, पेशा बनेको छ। आन्दोलन यहाँ साधन हो, सत्ता अन्तिम लक्ष्य। हिजो ‘जनताको नाममा’ लड्नेहरू आज जनताबाट टाढा बस्नुलाई सुरक्षा ठान्छन्। फुल यहाँ पनि निर्दोष नै छ—तर मन्दिरभन्दा चिहानमा बढी प्रयोग हुन्छ, किनकि शोक यहाँ दैनिकी हो।
विडम्बना के छ भने, अहिंसाको देश भनेर चिनिने नेपालमा विचारभन्दा लाठी छिटो चल्छ। भाषणमा शान्ति, सडकमा दमन—यो नै हाम्रो राजनीतिक संस्कारजस्तो बनिसकेको छ। प्रश्न गर्ने विद्यार्थी ‘अराजक’, आवाज उठाउने नागरिक ‘उक्साइएको’, र चुप लाग्नेहरू ‘असल जनता’ कहलिन्छन्।

नेताहरू अमर जस्तै बोल्छन्—तर इतिहासले बारम्बार सम्झाइदिएको छ, सत्ता कुनैको बपौती होइन। अन्ततः सबैले एउटै सत्य भेट्छन्—न कुर्सी जान्छ साथमा, न गाडी, न सुरक्षाकर्मी। जाने घाट नै हो, जहाँ भाषणको कुनै मूल्य हुँदैन।
सामाजिक अभियन्ताको काम यहाँ झन् कठिन छ। किनकि यहाँ समस्या मात्र संरचनागत होइन, मानसिक पनि छ। हामी दमनको विरोध त गर्छौं, तर आफू सत्तामा पुगेपछि उही अभ्यास दोहोर्याउँछौं। परिवर्तन चाहन्छौं, तर आफू बदलिन चाहँदैनौं।
अब प्रश्न स्पष्ट छ—हामी कस्तो राजनीति चाहन्छौं? भोकलाई नारा बनाउने कि नारा भन्दा माथि उठेर भोक अन्त्य गर्ने? शान्तिलाई भाषणमा सीमित राख्ने कि व्यवहारमा उतार्ने?
किनकि इतिहासले कसैको पद सोध्दैन।
ऊ केवल यत्ति सोध्छ—
तिमीले जनतालाई भात दियौ कि केवल भाषण?
र अन्त्यमा,
घाटसम्म पुग्दा
तिमीले छोडेको समाज
के अलि शान्त थियो?

