

सङ्खुवासभा – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीको मर्मअनुसार नयाँ जनादेश आवश्यक भएकाले संसद् पुनःस्थापना नहुने बताएका छन्।

प्रेस सेन्टरले शनिबार सदरमुकाम खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले अहिलेकै सरकारले निर्वाचन गराउने बताए।
निर्वाचनका लागि दलहरूले बन्द सूची समेत निर्वाचन आयोगमा बुझाइसकेकाले देश अब चुनावतर्फ होमिएको बताए। दाहालले अब देशमा सर्वपक्षीय तथा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको र अर्को सरकार पुनर्गठन नहुने दाबी गरे।

आज काठमाडौँ फर्किनुअघि पत्रकारसँग कुरा गर्दै संयोजक दाहालले अहिलेकै सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गराउन सक्षम रहेको बताए। संविधानसभाबाट संविधान बनाउँदा हामीले १० वर्षपछि संविधानको समीक्षा गरी संविधानमा भएका सकारात्मक र नकारात्मकको आधारमा संविधान संशोधन र परिमार्जन गर्नेछौँ भनेको उनले बताए।
जेनजी आन्दोलनको मर्मअनुसार अहिलेका राजनीतिक दलहरूले नयाँ जनादेशमा जानुपर्ने आवश्यक भएको उनको भनाइ छ। निर्वाचनको प्रक्रिया सुरु भइसकेको संसद् पुनःस्थापना नहुने र अहिले भएकै सरकारले निर्वाचन सम्पन्न गराउनुपर्ने धारणा व्यक्त गरे।
नयाँ जनादेश प्राप्त गरिसकेपछि संविधान संशोधनको प्रक्रिया समेत बढाइने बताऐ। नेकपा सङ्खुवासभाको एकता घोषणा कार्यक्रममा सहभागी हुन दाहाल र सहसंयोजक माधवकुमार नेपाल शुक्रबार खाँदबारी आएका हुन्।
दाहाल शनिबार जहाजबाट काठमाडौँ फर्किएका छन् भने सहसंयोजक नेपाल धनकुटाको नेकपाको एकता घोषणा कार्यक्रममा सहभागी हुन त्यसतर्फ लागेका छन्।

