

सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरस्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत एक जना वन चौकीदारको टाउको अलग गरिएको अवस्थामा शव फेला परेको छ।
ज्यालादारीमा कार्यरत राईटरखोरकै ४७ वर्षीय रामईश्वर महतोको शव घरदेखि करिब ५ सय मिटर टाढा परियोजनाको जंगलभित्र टाउकोविनाको अवस्थामा भेटिएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए।

स्थानीयका अनुसार आइतबार बिहान करिब ५ बजेतिर जंगलभित्र रूख काटिएको आवाज सुनेपछि केही मानिस त्यसतर्फ गएका थिए। दिउँसोसम्म पनि महतो घर नफर्किएपछि तथा मोबाइल फोन ‘स्वीच अफ’ भएपछि परिवार र स्थानीयले खोजी थालेका थिए।
खोजतलासका क्रममा जंगलभित्र उनको टाउको अलग गरिएको अवस्थामा शव फेला परेको हो। प्रहरीले हालसम्म टाउको फेला पार्न सकेको छैन भने खोजी कार्य जारी रहेको डीएसपी राईले बताए।
घटनास्थलमा शवको मुचुल्का उठाउने कार्य भइरहेको छ। साथै साँझ धनुषाको लालगढबाट तालिम प्राप्त कुकुर झिकाएर प्रहरीले घटनाको अनुसन्धान तीव्र बनाएको छ।

घटनाको क्रूरतापछि स्थानीय तहमा आक्रोश बढेको छ। कर्तव्य ज्यान मुद्दामा कानुन अझ कडा बनाइनुपर्ने र ‘हत्याको बदला हत्या बराबरको सजाय’ तोक्नुपर्ने मागसमेत उठ्न थालेको छ।

