Aamsanchar

६३ वर्षे शैक्षिक यात्राको उत्सवः देवी माध्यमिक विद्यालयको उदाहरणीय योगदान

Author Image
आइतवार, पौष २०, २०८२

झापा, बिर्तामोड — बिर्तामोड नगरक्षेत्रमा गुणस्तरीय शिक्षाको पहिचान बनाउँदै आएको देवी माध्यमिक विद्यालयले आफ्नो ६३ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। सानो झुपडीबाट सुरु भएको विद्यालय आज नगरकै शैक्षिक मेरुदण्डका रूपमा स्थापित हुनु आफैँमा प्रेरणादायी कथा बनेको छ।

बिर्तामोड–५ मा अवस्थित विद्यालयको वार्षिकोत्सव बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महत्तरा प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा भएको थियो। समारोहमा शिक्षा शाखा प्रमुख तीलचन भण्डारी, पूर्व तथा वर्तमान शिक्षक, अभिभावक, समाजसेवी, उद्योगी र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

दीप प्रज्वलनदेखि इतिहासको सम्मानसम्म

कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि प्रसाईले पानसमा दीप प्रज्वलन गर्दै विद्यालयका जग्गादाता खनपरुदे रामबाबु प्रसाईको अर्धकद शालिकमा माल्यार्पण गरी गरेकी थिइन्। स्वागत मन्तव्य शिक्षक उमेश कुमार शाहले प्रस्तुत गरेका थिए भने शिक्षक युवराज ढकालको स्वागत गीतले समारोहलाई सजीव बनाएको थियो।

झुपडीबाट आधुनिक शिक्षालयसम्म

विद्यालयकी प्रधानाध्यापक अम्बिका श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनले देवी माध्यमिक विद्यालयको ऐतिहासिक यात्रा उजागर ग¥यो। २०१९ सालमा सानो झुपडीबाट सुरु भएको विद्यालय आज हजारौँ विद्यार्थीलाई शिक्षाको उज्यालो बाँडिरहेको उल्लेख गर्दै उनले संस्थापक, जग्गादाता र योगदानकर्ताको समर्पणकै कारण यो सफलता सम्भव भएको बताइन्।

उनका अनुसार २०३४ सालमा टोरूप प्रसाई र विवेक केशरी प्रसाईको पहलमा प्राप्त एक विघा जग्गा तथा ६० हजार रुपैयाँ लगानीमा पाँच कोठे भवन निर्माण भई ‘देवी माध्यमिक विद्यालय’को औपचारिक स्थापना भएको थियो। त्यसयता विद्यालयले निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै सक्षम जनशक्ति उत्पादन गर्दै आएको छ।

पूर्वाधार र प्रविधिमा देवीको फड्को

समारोहमा विद्यालयले हालै हासिल गरेका उपलब्धिहरू पनि सार्वजनिक गरिएका थिए। इन्टरएक्टिभ कक्षाकोठा, कम्प्युटर ल्याब, शुद्ध खानेपानी, सेनिटरी प्याड भेन्डिङ मेसिन, विभिन्न छात्रवृत्ति अक्षयकोष स्थापना तथा नयाँ तीनतले १२ कोठे भवन निर्माण देवी माविको शैक्षिक प्रगतिका ठोस उदाहरणका रूपमा प्रस्तुत गरियो।

आगामी योजनाअन्तर्गत खेलमैदान निर्माण, बस सेवा विस्तार, थप ३० वटा इन्टरएक्टिभ बोर्ड जडान, अंग्रेजी र नेपाली दुवै माध्यममा समानान्तर कक्षा सञ्चालन तथा अभिभावकसँग सहकार्य गर्दै शिक्षण–सिकाइ सुधार कार्यक्रम अघि बढाइने प्रधानाध्यापक श्रेष्ठले जानकारी दिइन्।

विद्यार्थी, शिक्षक र कर्मचारी सम्मानित

वार्षिकोत्सवको अवसरमा कक्षा ६ देखि १० सम्मका उत्कृष्ट विद्यार्थीलाई स्टेशनरी किट वितरण गरिएको थियो। एमबीबीएस अध्ययनका लागि नाम निकाल्न सफल कृतान्जल दाहाल र रोहन सुनारलाई विशेष सम्मान प्रदान गरियो। कक्षा १२ का विद्यार्थीलाई त्रैमासिक छात्रवृत्ति समेत प्रदान गरिएको थियो।

विभिन्न स्मृति अक्षयकोषमार्फत छात्रवृत्ति वितरण गर्नुका साथै एसइई, कक्षा १२, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा खेलाडीहरूलाई ‘हेडटिचर अवार्ड २०८१’ अन्तर्गत सम्मान गरिएको थियो।

दीर्घसेवी शिक्षक, उत्कृष्ट कर्मचारी तथा निर्वतमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष र सदस्यहरूलाई पनि समारोहमा कदरपत्र प्रदान गरिएको थियो।

शिक्षा र संस्कारको केन्द्र देवी मावि

विद्यार्थीहरूको सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो। सहभागीहरूले ६३ वर्षे इतिहास बोकेको देवी माध्यमिक विद्यालयले बिर्तामोड नगर क्षेत्रमा गरेको शैक्षिक प्रगति उदाहरणीय रहेको प्रतिक्रिया दिएका छन्।

देवी माध्यमिक विद्यालयको वार्षिकोत्सव केवल उत्सव मात्र नभई शिक्षा, संस्कार र सामाजिक विकासप्रतिको दीर्घ प्रतिबद्धताको प्रतीक बनेको छ।

Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर