

पर्सा – धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेको छ।

वीरगञ्ज महानगरपालिकाका मुख्य तथा संवेदनशील क्षेत्रहरूमा निषेधाज्ञा जारी गरिएको हो। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पुस २१ गते दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि यो निषेधाज्ञा लागू भएको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम शान्ति सुरक्षा कायम राख्नका लागि तोकिएका क्षेत्रहरूभित्र कुनैपनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा प्रतिवन्ध लगाइएको छ।

निषेधाज्ञा लागू भएका क्षेत्रहरूमा पूर्वमा बसपार्क क्षेत्र, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शङ्कराचार्य गेट हुन्। प्रशासनले उक्त आदेशको उल्लङ्घन गर्ने जोसुकैलाई नियन्त्रणमा लिई कानूनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ। पछिल्लो समय सुरक्षा संवेदनशीलता बढेको अवस्थामा शान्ति कायम गर्न यो कदम चालिएको हो।

