Aamsanchar

प्याब्सन झापाले पौष २४ गते विर्तामोडमा ३५ औँ स्थापना दिवस तथा जिल्ला स्तरीय सांस्कृतिक कार्यक्रम आयोजना गर्ने

Author Image
सोमवार, पौष २१, २०८२

बिर्तामोड, झापा ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले आगामी पौष २४ गते विर्तामोडमा ३५ औँ स्थापना दिवस तथा जिल्ला स्तरीय सांस्कृतिक कार्यक्रम भव्य रूपमा आयोजना गर्ने भएको छ।
यस सन्दर्भमा पौष २१ गते सोमबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको उद्देश्य, तयारी र सञ्चालन तालिकाबारे जानकारी गराइएको हो। पत्रकार सम्मेलनको सभाध्यक्षता प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीले गरेका थिए। कार्यक्रममा जिल्ला वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने कार्यक्रम तयारीबारे विर्तामोड प्याब्सन अध्यक्ष सुरेन्द्र खरेलले जानकारी गराएका थिए।

अध्यक्ष कार्कीले प्याब्सन झापाको ३५ औँ स्थापना दिवसको अवसरमा शैक्षिक उपलब्धि, सांस्कृतिक पहिचान र प्रतिभाको सम्मानलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गर्न लागिएको बताउँदै पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए। कार्यक्रममा पत्रकारहरूको जिज्ञासामा समेत उत्तर दिइएको थियो।
पौष २४ गते विर्तामोड नगरपालिका–५ स्थित सिटी सेन्टर प्राङ्गणमा हुने कार्यक्रममा सांस्कृतिक पहिचान झल्कने सामूहिक सांस्कृतिक नृत्य, एकल शास्त्रीय नृत्य तथा गायन प्रतियोगिता सञ्चालन गरिने जनाइएको छ।

गायन प्रतियोगिता बिहान ९ बजेबाट सुरु हुनेछ। त्यसपछि प्याब्सनको ३५ औँ स्थापना दिवसको उद्घाटन समारोह, विभिन्न व्यक्तित्व सम्मान तथा क्रमिक रूपमा सांस्कृतिक नृत्य र एकल शास्त्रीय नृत्य प्रतियोगिता सञ्चालन गरिने कार्यक्रम तालिका रहेको छ।
जिल्ला स्तरीय सांस्कृतिक कार्यक्रमअन्तर्गत सामूहिक सांस्कृतिक नृत्य, एकल शास्त्रीय नृत्य प्रतियोगिता, कक्षा ११ र १२ को गायन प्रतियोगिता, १२ वर्षमुनि तथा १२ वर्षमाथिको गायन प्रतियोगिता आयोजना गरिने छ।

सम्मानतर्फ जिल्लाभरिबाट योगदान र वरिष्ठताका आधारमा संस्थापक÷प्रिन्सिपल सम्मान प्रदान गरिने छ। सम्मानका लागि विराटज्योती अंग्रेजी माध्यमिक विद्यालय विर्तामोडका गणेशप्रसाद ओली, देवकुल अंग्रेजी माध्यमिक विद्यालय विर्तामोडका धरणीरस मैनाली र रुपरत्न अंग्रेजी माध्यमिक विद्यालय अर्जुनधाराका प्रभु कुमार श्रेष्ठ चयन भएका छन्।

यसैगरी टावर टेम्पल अंग्रेजी विद्यालय विर्तामोडका संस्थापक स्व. नरेशमान धिमाललाई मरणोपरान्त संस्थापक सम्मान प्रदान गरिनेछ।
संस्थागत विद्यालयमा अविच्छिन्न रूपमा कार्यरत शिक्षकतर्फ श्री हरिकुल नमुना माध्यमिक विद्यालय कनकाईका मुक्ति दाहाललाई सम्मान गरिने भएको छ। उत्कृष्ट पालिका सम्मान प्याब्सन अर्जुनधारा पालिकालाई प्रदान गरिने छ भने एक जना पत्रकारलाई पनि पत्रकार सम्मान गरिने जनाइएको छ।

त्यस्तै, एस.ई.ई. २०८१ मा सदस्य विद्यालयबाट ४ जी.पी.ए. प्राप्त गर्ने १५ जना विद्यार्थीलाई प्रशंसा पत्रद्वारा सम्मान गरिने छ।
सम्मानित हुने विद्यार्थीहरू भद्रपुर, विर्तामोड, गौरादह, मेचीनगर र गौरीगञ्जका विभिन्न विद्यालयका रहेका छन्।
पत्रकार सम्मेलनमा झापाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्याब्सन झापाले स्थापना दिवसको कार्यक्रममा सबैलाई उपस्थित भई कार्यक्रमको सफलतामा सहयोग गर्न आग्रह गरेको छ।

Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर