Aamsanchar

“उनीहरू बोल्न सक्दैनन्, तर आँखाले सबै कुरा भन्छन” सुस्त मनस्थिति भएका बालबालिकाको संसारमा इक्यान झापाको साथ

Author Image
सोमवार, पौष २१, २०८२

बिर्तामोड । कनकाई–१, जमुनवारीको शान्त कुनामा रहेको सानो बालआवास गृह। बिहानको घाम झ्यालबाट भित्र छिर्दै गर्दा केही बालबालिका आँगनमा चुपचाप बसेका छन्, कोही भित्तामा टाँसिएको चित्रतर्फ हेर्दै मुस्कुराइरहेका छन्। उनीहरू धेरै कुरा बोल्न सक्दैनन्, तर उनीहरूको आँखाले पीडा, भरोसा र माया सबै बोल्छ।

यिनै आँखामा केही उज्यालो थप्ने उद्देश्यसहित नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले आफ्नो सातौँ स्थापना दिवसलाई उत्सवभन्दा माथि उठाउँदै मानवीय सेवामा समर्पित गरेको छ। औपचारिक कार्यक्रम र भाषणभन्दा फरक, इक्यान झापाको टोली खाद्यन्न र नगद बोकेर यही बालआवास गृहमा पुग्यो—सुस्त मनस्थिति सरोकार समाज नेपालमा।

“उत्सवभन्दा ठूलो खुशी सेवा हो”

इक्यान झापाका अध्यक्ष राजकुमार कार्की भन्छन्,
“स्थापना दिवसमा ब्यानर, केक र वनभोज त हुन्छन् नै, तर कसैको भोक मेटिनु, कसैको दिन सहज हुनु नै सबैभन्दा ठूलो उत्सव हो।”

कार्यक्रमका प्रमुख अतिथि, इक्यान केन्द्रिय अध्यक्ष शेषराज भट्टराईले बालबालिकासँग केही समय बिताए। उनीहरूसँग आँखामा आँखा जुधाएर बसे, टाउकोमा हात राखे। त्यसपछि उनले आफ्नो व्यक्तिगत तर्फबाट २१ हजार रुपैयाँ सहयोग गरे।
“यी बालबालिकाको भविष्य हाम्रो संवेदनासँग जोडिएको छ,” उनले भने, “शिक्षा र परामर्शको क्षेत्रमा काम गर्ने हामीले समाजका यस्ता मौन आवाज सुन्नैपर्छ।”

एउटा आमाजस्ती अध्यक्ष, अनेक जिम्मेवारी

सुस्त मनस्थिति सरोकार समाज नेपालकी अध्यक्ष भागिरथा चापागाईँ पोखरेलका लागि यो संस्था केवल कार्यालय होइन—घर हो, परिवार हो।
२०६८ सालदेखि उनले सडक, प्रहरी कार्यालय र विभिन्न निकायबाट ल्याइएका वेवारिसे, हिंसापीडित र अभिभावकविहीन बौद्धिक अपाङ्गता भएका बालबालिकालाई यहीँ आश्रय दिँदै आएकी छन्।

“हाल १७ जना बालबालिका छन्,” उनी भन्छिन्, “तीन जना सहयोगी छन्, तर खर्च मासिक करिब ६० हजार पुग्छ। सरकारको सहयोग पुग्दैन, बाँकी समाजको भरोसामा चलेको छ।”

उद्धार गरिएका ३६ बालबालिकामध्ये सात जनाले अकालमै ज्यान गुमाए।
“उनीहरूको संस्कारसमेत हामीले नै ग¥यौं,” पोखरेलको स्वर केही भरिन्छ, “किनकि उनीहरूका लागि यही घर नै सबैथोक थियो।”

सहयोग सानो, आशा ठूलो

इक्यान झापाका उपाध्यक्ष तथा सीएसआर विभाग प्रमुख अशोक भण्डारी भन्छन्,
“हामीले दिएको खाद्यन्न र नगदले सबै समस्या समाधान हुँदैन। तर कसैले साथ छ भन्ने अनुभूति दिलाउन सकियो भने त्यो पनि ठूलो कुरा हो।”

कार्यक्रममा इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीले आफ्नो व्यक्तिगत तर्फबाट ११ हजार रुपैयाँ सहयोग गरे। यसरी कार्यक्रममा ३२ हजार रुपैयाँ नगदसहित खाद्यन्न सामग्री हस्तान्तरण गरियो।

मौन बालबालिकाको नाममा एउटा प्रश्न

स्थानीय समाजसेवी मातृकाप्रसाद सिटौलाले निःशुल्क उपलब्ध गराएको जग्गामा बनेको यो बालआवास गृह आज पनि सहयोगको पर्खाइमा छ। बालबालिकाले बोल्न सक्दैनन्, माग गर्न सक्दैनन्। तर उनीहरूको जीवन बाँच्ने अधिकार हाम्रो संवेदनामा निर्भर छ।

इक्यान झापाले स्थापना दिवसलाई सेवा र करुणासँग जोडेर एउटा प्रश्न छोडेको छ—
“हामी समाज भएर कति सुन्दैछौं ती आवाज, जो शब्दमा होइन, मौनतामा बोल्छन्?”

Views: 60

प्रतिक्रिया (०)