Aamsanchar

एमालेले काँग्रेससँग सहकार्य गर्ने

Author Image
मङ्गलवार, पौष २२, २०८२

काठमाडौँ –  नेकपा एमालेले राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेससँग सहकार्य गर्ने भएको छ।

नेकपा एमालेको मंगलवार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो। एमालेले प्रत्येक प्रदेशमा १-१ जना उम्मेदवार रहनेगरी काँग्रेससँग सहकार्य गर्ने गरी छलफल गरेको एमालेका उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

बैठकले काँग्रेससँग गठबन्धनको सिट टुंगो लगाउने र उम्मेदवार छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। काँग्रेससँगको छलफल टुंगोमा नपुगेकोले थप छलफल गर्नको लागि अध्यक्ष ओलीलाई जिम्मा दिइने निर्णय गरेको उपमहासचिव भट्टले जानकारी दिए। बैठकले प्रतिनिधिसभाको निर्वाचनको तयारीका लागि पनि विभिन्न कमिटी बनाउने निर्णय गरेको उनले बताए।

उनका अनुसार अध्यक्ष ओलीको संजोजकत्वमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञावली र विष्णु रिमाल सदस्य रहने गरी घोषणापत्र मस्यौदा कमिटी बनाउने निर्णय गरिएको छ। बैठकले एमाले उपाध्यक्ष राम बहादुर थापाको संयोजकत्वमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भिस्म अधिकारी सदस्य रहेको निर्वाचन परिचालन कमिटी गठन गरेको छ।

भट्टले भने, ‘राष्ट्रियसभाको सदस्यको लागी नेपाली कांग्रेससँग छलफल भइरहेको छ। टुंगोमा पुगेको छैन। त्यो टुंगामा पुर्याछउने र उम्मेद्वार को कोलाई बनाउने भन्ने अधिकार अध्यक्षलाई दिएको छ। सातवटै प्रदेशमा १-१ जना उम्मेदवारी दिने हिसाबले नेपाली कांग्रेससँग छलफल भएको जानकारी गराउँछु।’

बैठकले निर्वाचनसम्बन्धी काम गर्न पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यलाई परिचालन गर्ने उपमहासचिव भट्टले बताए।

Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर