

सिड्नी, अष्ट्रेलिया – अष्ट्रेलियामा प्रवासमा बसोबास गर्ने नेपाली समुदायबीच आध्यात्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित “धर्म जागरण महा सत्सङ्ग” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम २०२६ जनवरी २, ३ र ४ का दिन श्री योगी नरहरिनाथ र आदित्यनाथ फाउण्डेसन अष्ट्रेलियाको आयोजनामा सम्पन्न भएको थियो।

कार्यक्रमको मुख्य आकर्षण अन्तर्राष्ट्रिय कथावाचिका भागवत मञ्जरी राधिकादेवी दासीको कथा प्रवचन तथा भक्तिपूर्ण भजन रहेको थियो। पहिलो दिन औपचारिक उद्घाटनमा संस्थाका सचिव कृष्ण सुवेदी र कार्यक्रम संयोजक नारायण शास्त्रीले उपस्थित सबैलाई स्वागत गर्दै उद्देश्य प्रकाश पारे। उद्घाटन समारोहमा न्यू साउथ वेल्स वाणिज्य दूत सञ्जीव शर्मा, योग गुरु राजन शर्मा, एनआरएनए न्यू साउथ वेल्स राज्य परिषद् संयोजक उषा बारिया पोखरेल, राष्ट्रीय हिन्दु एकता मञ्च नेपालका अध्यक्ष इन्द्र प्रसाद ओली लगायत विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरू उपस्थित थिए।
दोस्रो र तेस्रो दिन पनि कथा प्रवचन, भजन र अध्यात्मिक प्रवचन जारी रह्यो। कार्यक्रममा सहयोग पु¥याउने व्यक्तिहरूलाई सम्मान र प्रमाणपत्र वितरण गरिएको थियो। इन्द्र प्रसाद ओलीले तेस्रो दिन धर्म, जीवन र जगत् सम्बन्धी विश्लेषण प्रस्तुत गरेका थिए।


संयोजक नारायण शास्त्रीका अनुसार पहिलो संस्करणमै अपेक्षा भन्दा बढी सहभागीता र सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। आयोजक संस्थाका अनुसार दीर्घकालीन उद्देश्य श्री योगी नरहरिनाथ वैदिक सनातन हिन्दू संस्कृत विश्वविद्यालय स्थापना गर्नु पनि रहेको छ। विश्वविद्यालय स्थापना अभियानको औपचारिक शुभारम्भ जनवरी २३, बसन्त पञ्चमीको अवसरमा ग्रान्ड प्यालेस फङ्सन सेन्टरबाट गरिने निर्णय गरिएको छ।
आयोजकले यस महा सत्सङ्गले प्रवासमा नेपाली समुदायमा सनातन संस्कृति, नाथ योग दर्शन, धर्म, संस्कार र आत्मचेतना प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान दिएको निष्कर्ष पनि सार्वजनिक गरेका छन्।

