Aamsanchar

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

Author Image
बुधवार, पौष २३, २०८२

काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारहरुको मनोनयन हुँदैछ । आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।

निर्वाचन आयोगले फागुनबाट रिक्त हुने १८ सदस्यका लागि माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन कार्यतालिका बनाएको हो। आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने, पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् ।

 

कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र जसपाबीच भागबन्डा हुँदै

राष्ट्रियसभा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टीले सहकार्य गरेका छन् । उनीहरूले औपचारिक रूपमा नै राष्ट्रियसभा निर्वाचनमा सहकार्य गरेर जाने निर्णय गरिसकेका छन्। आगामी माघ ११ गते १८ सिटको लागि राष्ट्रियसभाको निर्वाचन हुँदैछ। राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमको पनि एक सिट रिक्त हुँदैछन्।

१८ सिटको लागि हुन लागेको निर्वाचनमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी गठबन्धन गर्ने निर्णय गरिसकेका छन्। कांग्रेस र एमालेबीच सिट संख्यामा पनि सहमति भइसकेको छ। कांग्रेस एमालेले ७र७ सिट भाग लगाएका छन। नेपाली कम्युनिस्ट पार्टीलाई ३ र जसपा नेपाललाई एक सिट दिएका छन्। नेपाली कम्युनिस्ट पार्टीले भने ४ सिटको दाबी गरिरहेको छ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरिसकेको छ। एमाले सचिवालय बैठकले पनि राष्ट्रियसभामा मिलेर जाने निर्णय गरेको छ। कांग्रेसको कोटाबाट लोकतान्त्रिक समाजवादी पार्टीलाई समेटर लानुपर्ने पक्षमा छ।

नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले र मधेस केन्द्रित दलहरूसँग सहकार्य गरेर जाने निर्णय गरेको छ। पेरिसडाँडामा बसेको परामर्श बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता प्रकाश ज्वालाले मतभारको आधारमा सम्मानजनक आधारमा सहकार्य गरेर जाने बताए। सिट संख्या र उम्मेदवार टुंग्याउने जिम्मा संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाललाई जिम्मेवारी दिने निर्णय भएको ज्वालाले बताए।

कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली, नेकपाका संयोजक प्रचण्ड, सहसंयोजक नेपाल र जसपाका अध्यक्ष यादवले राष्ट्रियसभामा रिक्त सिटको भागबन्डा गर्ने भएका छन्। राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहन्छन्। प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको मतभार १९ छ।

कोशी प्रदेशबाट ३ जना, मधेस प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २र२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २र२ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुनेछ।

यी नेताहरूको हुँदैछ बिदाइ

आउँदो पाँच महिनापछि राष्ट्रिय सभा सदस्य पदको कार्यकाल सकिएर बिदाइ हुनेमा राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरे, माओवादीका नारायणकाजी श्रेष्ठदेखि एकीकृत समाजवादीका डा. बेदुराम भुसाल छन्।

आयोगका अनुसार कार्यकाल सकेर पदबाट बिदाइ हुन लागेकाहरूमा नेकपा एमालेका तर्फबाट इन्दिरादेवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदादेवी भट्ट र सुमित्रा बीसीको कार्यकाल सकिन लागेको छ।

त्यसैगरी माओवादी केन्द्रका तर्फबाट नारायणकाजी श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलबासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, राधेश्याम पासवान छन्। त्यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीका डा। बेदुराम भुसाल पनि बिदाइ हुने सूचीमा छन्।

जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव, लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको पनि फागुन १९ मा कार्यकाल पूरा हुँदैछ। सरकारको सिफारिसमा मनोनीत भएका वामदेव गौतम पनि बिदाइ हुने सूचीमा छन्।

Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर