

उत्तरी अफगानिस्तानको तखर प्रान्तमा सुन खानीको कामलाई लिएर स्थानीय बासिन्दा र खानी कम्पनीका कर्मचारीबीच भएको झडपमा केही व्यक्तिको मृत्यु भएको तालिबान अधिकारीले मङ्गलबार पुष्टि गरेका छन्। खानी तथा पेट्रोलियम मन्त्रालयका प्रवक्ता हुमायूँ अफगानका अनुसार चाह अब जिल्लामा भएको झडपले मानवीय र आर्थिक दुवै प्रकारको क्षति पुगेको छ। मन्त्रालयको प्रतिनिधिमण्डललाई घटनास्थलमा अनुसन्धानका लागि पठाइएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार अन्य प्रान्तका खानी मजदुरहरूले पिउने पानीको आपूर्ति गर्ने क्षेत्र नष्ट गरेपछि उनीहरूले ढुङ्गा र लाठीको प्रयोग गरी विद्रोह गरेका थिए। यस झडपमा धेरै मानिस मारिएका छन् भने खानी मजदुरहरू भागेका छन्।
अफगानिस्तानले सुनसँगै सङ्गमरमर, खनिज, रत्न र कोइला खानीमा ठूलो स्रोत पाएको छ। सन् २०१० र २०१३ को अमेरिकी र संयुक्त राष्ट्रसङ्घीय मूल्याङ्कनअनुसार देशको भू–सम्पत्तिको अनुमानित मूल्य १० खर्ब डलर रहेको थियो।
तालिबान सरकारले देशमा सुरक्षा पुनःस्थापना गर्ने वाचा गर्दै अफगानी र विदेशी लगानीकर्तालाई भूमिगत सम्पत्ति दोहन गर्न र राजस्व प्रवाह सुनिश्चित गर्न आग्रह गरेको छ।


