

ताप्लेजुङ- आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यका लागि तोकिएका ताप्लेजुङका २८ वटा मतदान स्थल अतिसंवेदनशील सूचीमा रहेका छन् । जिल्लाका लागि कायम भएका ८० मध्ये उक्त सङ्ख्यामा मतदानस्थल अति संवेदनशील सूचीमा रहेका हुन् ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार यस जिल्लाका लागि ८० वटा मतदान स्थल र १२७ वटा मतदान केन्द्र कायम भएका छन् । जिल्लाका लागि कायम भएका ८० वटा मतदान स्थलको अवस्था र संवेदनशीलताका आधारमा गरिएको वर्गीकरण अनुसार २८ वटा स्थल अति संवेदनशील सूचीमा रहेको प्रजिअ सेढाइँले जानकारी दिनु भयो ।
उहाँका अनुसार बाँकी २५ वटा मतदान स्थल संवेदनशील र २७ मतदान स्थल सामान्य सूचीमा परेका छन् ।

यसअघि २०७९ सालको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ताप्लेजुङमा ७५ वटा मतदान स्थल रहेका थिए । यसपटक पाँच वटा थप भई मतदान स्थलको सङ्ख्या ८० पुगेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदान स्थल भएसँगै मतदान केन्द्र पनि थप भएर १२७ पुगेको छ ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बान्दवराज दुलाल ९विपिन० का अनुसार आगामी निर्वाचनका लागि जिल्लामा मतदाताको सङ्ख्या पनि वृद्धि भएर कुल ९० हजार ३२७ पुगेको छ । कुल मतदाता सङ्ख्यामध्ये पुरुष ४८ हजार २८५ र महिला ४२ हजार ४२ जना रहेका दुलालले जानकारी दिनु भयो । २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा यहाँ ८८ हजार २८५ मतदाता रहेका थिए । आगामी फागुन २१ मा हुने निर्वाचनका लागि जिल्लामा दुई हजार ४२ जना नयाँ मतदाता थपिएका छन् ।

