

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ करिब ९ देखि १२ महिनासम्म मैदान बाहिर रहने भएकी छन्।

अस्ट्रेलियन ए– लिगअन्तर्गत ब्रिसबेनमा सम्पन्न राउन्ड–११ को खेलमा ब्रिसबेनविरुद्ध दोस्रो हाफको अन्त्यतिर साम्बा घाइते भएकी थिइन्।
बलका लागि प्रतिस्पर्धा गर्ने क्रममा रोअरकी गोलकिपर क्लोई लिंकनले साम्बाको दाहिने खुट्टा थिचेपछि उनी घाइते भएकी हुन्।

एमआरआई परीक्षणले साम्बाको दाहिने घुँडामा रहेको एसीएल ग्राफ्ट च्यातिएको पुष्टि भएको वेलिङ्टन फिनिक्सले जनाएको छ।
यससँगै उनले ए लिगको पुरै सिजन गुमाउने भएकी छन्। फिनिक्सकी मुख्य प्रशिक्षक बेभ प्रिस्टमनले साम्बाको चोटले टोली अत्यन्तै निराश भएको बताइएकी छन्।
साम्बाको चोटपछि वेलिङ्टन फिनिक्सले वैकल्पिक फरवार्ड खोजी गरिरहेको छ। तर ए–लिगको रजिस्ट्रेशन विन्डो बन्द भइसकेकाले क्लबको खेल फ्री–एजेन्ट खेलाडीमा सीमित हुनेछ।
यससँगै नेपालले आगामी दिनमा खेल्ने अन्तर्राष्ट्रिय महिला फुटबलमा समेत साम्बा उपलब्ध हुने छैनन्।

