झापा । शिक्षा र सामाजिक क्षेत्रमा झापामा परिचित तथा सम्मानित व्यक्तित्व गणेशप्रसाद खनालको निधन भएको छ। उहाँको आज दिउँसो १२ बजे आफ्नै निवासमा निधन भएको हो। स्वर्गीय खनालका छोरा डा. रुपक खनालले उक्त दुःखद् समाचारको पुष्टि गर्नुभएको छ।

बिक्रम संवत् १९९८ सालमा इलामको साखेङ्गमा जन्मिनुभएका खनालले २०१७ सालदेखि निजामती सेवामा प्रशासकका रूपमा सेवा गर्नुभयो। दीर्घकालीन सरकारी सेवापछि सेवा निवृत्त हुनुभएका उहाँले बाँकी जीवन शिक्षाको उज्यालो फैलाउन समर्पित गर्नुभयो।

निजामती सेवापछिको समयलाई खेर जान नदिँदै उहाँले बिर्तामोड गोमेन्द्र महाविद्यालयको स्थापना गरी झापामै भरपर्दो र गुणस्तरीय शिक्षा सेवाको थालनी गर्नुभएको थियो। शिक्षा क्षेत्रसँगै बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको एक्सेल बैंक (एक्सेल डेभलपमेन्ट बैंक) को संस्थापनमा समेत उहाँको महत्वपूर्ण योगदान रह्यो। साथै विभिन्न निजी, सामाजिक तथा सामुदायिक क्षेत्रमा उहाँ सधैँ क्रियाशील रहनुभयो।
स्वर्गीय खनालको निधनले झापाको शिक्षा, सामाजिक तथा बिर्तामोडवासी समाजले एक अभिभावकसमान व्यक्तित्व गुमाएको छ। उहाँको निधनप्रति बिर्तामोडसहित जिल्लाभर शिक्षा क्षेत्रमा आवद्धमाझ शोकको वातावरण छाएको छ।

परिवारजनका अनुसार स्वर्गीय खनालको पार्थिव शरीरलाई भोलि बिहान गोमेन्द्र कलेज परिसरमा श्रद्धाञ्जली सभाका लागि राखिनेछ। त्यसपछि बिहान ११ बजे शवयात्रा गरी कनकाई घाटमा अन्त्येष्टि गरिनेछ।
स्वर्गीय गणेशप्रसाद खनालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

