Aamsanchar

रोनाल्डो’लाई टक्कर दिने गरी ‘भिमगज’काे उपस्थिति

Author Image
शुक्रवार, पौष २५, २०८२

चितवन –चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा नयाँ भाले जंगली हात्ती देखिन थालेको छ । सो हात्तीलाई ‘भीमगज’ नाम दिइएको छ ।

हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरका प्रमुख मनपुरन चौधरीका अनुसार यो हात्ती केन्द्र वरपर देखिन थालेको करिब एक साता भएको छ । अर्को भाले हात्ती ‘रोनाल्डो’लाई टक्कर दिने गरी ‘भिमगज’ प्रजनन् केन्द्रमा देखा परेको उनले बताए ।

‘रोनाल्डो पनि विगत एक महिना अगाडिदेखि यहीँ डेरा जमाएर बसेको छ, भीमगज पनि आएको छ, एकले अर्कोलाई धपाउन खोजिरहेका छन्,’ केन्द्र प्रमुख चौधरीले भने, ‘रोनाल्डो ठूलो ज्यान र बलियो भएकाले भिमगज डराइरहेको जस्तो देखिन्छ तर छाडेको छैन ।’

करिब ५३ वर्षीय रोनाल्डोले भीमगजलाई सकभर वरपर आउन रोक्न खोज्ने केन्द्र प्रमुख चौधरीले बताए । ‘आफू बुढो भएकाले धेरै दौडिन त सक्दैन, तर वरपर अरु भाले हात्ती आउँदा रोनाल्डो रिसाउँछ,’ चौधरी भन्छन्, ‘रोनाल्डो २ महिना जति पहिला हराएको थियो, एक महिना जति भयो आएको, रोनाल्डो हराउँदा गोविन्दे आएर एक महिना बस्यो, रोनाल्डो आउने थाहा पाएपछि गोविन्दे हरायो, तर भीमगज भने आइरहेको छ ।’

भीमगज र रोनाल्डो दुवैले कोशीकली पोथी हात्तीसँग शारिरीक सम्पर्क गरेको केन्द्र प्रमुख चौधरीले बताए ।

भीमगज करिब १७र१८ वर्ष जति उमेर भएको अनुमान आफूहरुले गरेको चौधरीले बताए । ‘भीमगजको त उमेर छ, बलियो हुँदै जान्छ, रोनाल्डोलाई सानै उमेरमा टक्कर दिन खोजेको छ, मुर्ख छ’ चौधरी भन्छन्, ‘पछि यसले ध्रुवे, रोनाल्डो र गोविन्देलाई माथ खुवाउन सक्छ ।’

Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर