Aamsanchar

माइमेला यस वर्ष पनि आयोजना हुने, चुन्द्रिमुन्द्री, बाङ्गेसहित चार क्षेत्रमा विभाजन

Author Image
शुक्रवार, पौष २५, २०८२

कनकाई ।
सदियौँदेखि निरन्तर रूपमा लाग्दै आएको झापाको कनकाईस्थित प्रसिद्ध माइमेला यस वर्ष पनि आयोजना हुने भएको छ। नेपालमै चर्चा पाउँदै आएको माघे सङ्क्रान्ति मेलाको आयोजना पुष २९ गतेदेखि माघ २ गतेसम्म हुने भएको छ।

आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा मेला आयोजक समितिले दिएको जानकारीअनुसार यस वर्षको माइमेलामा नेपाल, भारत र भूटान लगायतका स्थानबाट धार्मिक श्रद्धालु तथा अवलोकनकर्ताहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजक समितिको अनुमान अनुसार मेलामा ५ लाखभन्दा बढी दर्शक सहभागी हुनेछन्।

मेलालाई व्यवस्थित रूपमा सञ्चालन गर्न इन्द्र पुलामी मगरको अध्यक्षतामा मेला आयोजक समिति गठन गरिएको छ। समितिले मेला आयोजनासम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।

यस वर्ष माइमेलालाई थप व्यवस्थित बनाउन मेला क्षेत्रलाई चार भागमा विभाजन गरिएको छ। जसअन्तर्गत

चुन्द्रिमुन्द्री क्षेत्रः यहाँ धार्मिक तथा सांस्कृतिक मेलामा प्रयोग हुने श्रृङ्गार सामग्री, लुगा, चुरा, माला, टिकालगायतका सामग्री तथा बालबालिकाका खेलौनाहरू बिक्री–वितरण गरिनेछ।

बाङ्गे क्षेत्रः स्थानीय परम्पराअनुसार मासुजन्य परिकार, गोस, तथा मदिरा बिक्री तथा उपभोग हुने क्षेत्रलाई बाङ्गे भनिन्छ।

मनोरञ्जन क्षेत्रः पिङ, खेल तमासा तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछ।

पार्किङ क्षेत्रः सवारीसाधन व्यवस्थापनका लागि छुट्टै पार्किङ व्यवस्था गरिएको छ।

मेलाको सुरक्षालाई विशेष प्राथमिकतामा राखिएको आयोजक समितिले जनाएको छ। मेला अवधिभर नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयंसेवकसहित सयौँ सुरक्षाकर्मी परिचालन गरिनेछ। मेला विशुद्ध धार्मिक हुने र कनकाई नगरपालिका सँगको सम्झौता अनुसार नै सञ्चालन गरिने आयोजकको दाबी छ।

सुरक्षालाई ध्यानमा राख्दै राति ९ बजेसम्म मात्र मेला सञ्चालन गरिने मेला ठेकेदार अर्पण राईले जानकारी दिए।

त्यसैगरी माघ १ गते कनकाई नगरपालिकाको पहलमा स्वास्थ्य शिविर, खानेपानी लगायतका आवश्यक व्यवस्थापन गरिने पत्रकार भेटघाट कार्यक्रमका प्रमुख अतिथि तथा वडा नम्बर ४ का वडाध्यक्ष रोशन सुवेदीले जानकारी दिए।

कनकाई नगरपालिकाले यस वर्ष खुला बोलपत्र आह्वान गरी मेला ठेक्का लगाएको हो। सबैभन्दा बढी २० लाख रुपैयाँको बोलपत्र परेपछि सोही अनुसार ठेक्का दिइएको वडाध्यक्ष सुवेदीले आमसंचारलाई बताए।  कार्यक्रमको सञ्चालन समितिका सचिव छवि थपलियाले गरेका थिए ।

Views: 241

प्रतिक्रिया (०)

सम्बन्धित खबर