Aamsanchar

अर्जुनधारामा झापा स्तरीय यू–१८ फुटबलको रौनक, तयारी अन्तिम चरणमा

Author Image
शनिवार, पौष २६, २०८२

बिर्तामोड । झापाको अर्जुनधारामा आयोजना हुने १८ वर्षमुनिको झापा जिल्ला पालिका स्तरीय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। यही माघ ११ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरिएको हो।

जिल्लाका १५ पालिकामध्ये ९ पालिकाका खेलाडी सहभागी हुने प्रतियोगिताले झापामा उदीयमान फुटबल प्रतिभालाई एकै थलोमा प्रतिस्पर्धा गराउनेछ। सार्वजनिक गरिएको तालिकाअनुसार समूह–१ मा बिर्तामोड नगरपालिका र कमल गाउँपालिकाबीच उद्घाटन खेल हुनेछ। त्यस्तै समूह–२ बाट बाह्रदशी गाउँपालिका र कनकाई नगरपालिका आमनेसामने हुनेछन्।

समूह–१ मा बिर्तामोड, कमल, शिवसताक्षी नगरपालिका र बुद्धशान्ति गाउँपालिका रहेका छन् भने समूह–२ मा भद्रपुर, मेचीनगर, अर्जुनधारा नगरपालिका र बाह्रदशी गाउँपालिका समावेश छन्।

अर्जुनधाराको फुलमती खोला छेउस्थित खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता शनिश्चरे फुटबल क्लबको आयोजनामा तथा अर्जुनधारा नगर खेलकुद विकास समितिको सहआयोजनामा हुँदैछ। आयोजकका अनुसार प्रतियोगिताले स्थानीय खेल संस्कृतिलाई थप सशक्त बनाउने विश्वास लिइएको छ।

प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा शनिश्चरे फुटबल क्लबका अध्यक्ष टेकराज तिलिङको अध्यक्षता रहेको थियो भने जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा लक्ष्मी माध्यमिक विद्यालय व्यवस्थापन समिति तथा खेलप्रेमी वीरबहादुर राई, व्यवसायी तथा समाजसेवी मिलन बस्नेत र समाज उद्धार कल्याण संस्थाका सचिव मेदनी ढुङ्गेलको समेत उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शनिश्चरे फुटबल क्लबका सचिव हरी गुरुङले गरेका थिए।

युवा खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले झापामा फुटबलको भविष्य उज्यालो बनाउने अपेक्षा गरिएको छ।

Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर