Aamsanchar

रहेनन् गायक प्रशान्त तामाङ

Author Image
आइतवार, पौष २७, २०८२

काठमाडौं –  नेपाल मूलका भारतीय गायक प्रशान्त तामाङको निधन भएको छ । आइतबार बिहान ४३ वर्षको उमेरमा हृदयाघातका कारण दिल्लीस्थित निवासमा उनको निधन भएको चलचित्रकर्मी राजेश घतानीले जानकारी दिए ।

“अमित पललाई प्रशान्तको आमाले फोन गरेर मृत्यु भएको जानकारी गराउनुभएको रहेछ,” घतानीले भने, “एक महिनाअघि मैले दिल्लीमा गएर उनलाई भेटेको थिएँ ।” अमितसँग सम्पर्क गर्दा उनले प्रशान्तको निधनबारे जानकारी गराएका घतानीले बताए ।

सन् २००७ मा भारतीय रियालिटी शो ‘इन्डियन आइडल–३’ को विजेता बनेपछि प्रशान्तको चर्चा चुलिएको थियो । उनले हिन्दी, नेपाली भाषाका दर्जनौँ गीतमा आवाज दिएका छन् । उनले ‘गोर्खा पल्टन’, ‘परदेशी’लगायत नेपाली चलचित्रमा अभिनय पनि गरेका छन् ।

अमित पल पनि ‘इन्डियन आइडल–३’ का प्रतिस्पर्धी हुन् । उनी हाल कार्यक्रमका सिलसिलामा दुबईमा रहेका घतानीले जानकारी दिए ।

भारतको दार्जिलिङमा जन्मिएका प्रशान्त इन्डियन आइडलको विजेता बन्नुअघि कोलकाता प्रहरीमा कार्यरत थिए ।

Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर