Aamsanchar

सुनकोशीमा बेलिब्रिज सञ्चालन

Author Image
आइतवार, पौष २७, २०८२

खोटाङ- खोटाङ र उदयपुर दुई जिल्ला जोड्ने फोक्सिङटारस्थित सुनकोशीमा बेलिब्रिज सञ्चालनमा आएको छ ।

खोटाङलाई तराइसँग जोड्ने छोटो बाटो सगरमाथा लोकमार्गमा पर्ने फोक्सिङटारमा बेलिब्रिज सञ्चालनमा आएको हो ।खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारस्थित सुनकोशीमा निर्माण गरिएको पुल गत वर्ष असोज १२ गतेको बाढीले बगाएपछि अस्थायी बेलिब्रिजको भर पर्नु परेको छ ।

गत वर्ष जडान गरिएको बेलिब्रिज कोशीको पानी बढेसँगै झिकिएको थियो । पुनः यो वर्ष बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याइएको हो।

बेलिब्रिज सञ्चालनमा आएसँगै जेठ पहिलो सातासम्मलाई खोटाङ–तराई सगरमाथा लोकमार्गबाट सिधा जोडिएको छ । गाईघाट(दिक्तेल सगरमाथा राजमार्गमा पर्ने दिक्तेल(फोक्सिङटार(गाईघाट सडक पूर्वी शहर जाने र आउने छोटो दुरीको बाटो हो ।

बेलिब्रिज जडानको काम पुस २६ गते शनिबार सम्पन्न भएकाले २७ गते आइतबार बिहानबाट सवारी साधन वारपार गर्न सक्ने निर्माण कम्पनी आर्यन कन्स्ट्रक्सन मल्टिपर्पोजका निर्देशक राम थापाले बताउनुभयो ।

फोक्सिङटारमा बेलिब्रिज जडान गर्नका लागि गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरको ९६ लाख ७७ हजार ९३७ मा बेलिब्रिज निर्माणका लागि निर्माण कम्पनी आर्यन कन्स्ट्रक्सन मल्टिपर्पोज कटारीले ठेक्का सम्झौता गरेको थियो ।

फोक्सिङटारमा सवारी साधन वारपार नहुँदा खोटाङबाट घुर्मी, कटारी हुँदै लामो दुरीको सडक प्रयोग हुँदै आएको थियो । लामो बाटो प्रयोगले सामान ढुवानीदेखि यात्रा गर्न खोटाङवासी महङ्गीको मारमा थिए । मोटरसाइकल भने फोक्सिङटारको झोलुगे पुलबाट वारपार हुने गरेको थियो ।

अस्थायी बेलिब्रिज जडान भएपछि जिल्लावासीलाई केही महिनाका लागि राहत मिलेको छ । फोक्सिङटारको बाढीले बगाएको पक्की पुल पुनःनिर्माणको टुङ्गो हालसम्म लागेको छैन् ।

Views: 59

प्रतिक्रिया (०)