मेचीनगर नगरपालिका–४ बाहुन्डागी बजारमा आगामी पौष ३० गते र माघ १ गते चौथो अन्तर्राष्ट्रिय तरुल उत्सव आयोजना हुने भएको छ। कृषि, संस्कृति, संरक्षण र पर्यटनलाई जोड्दै अन्तरसीमा सहकार्य र आत्मनिर्भर ग्रामीण विकासको सन्देश बोकेको यो उत्सवमा नेपालका सातै प्रदेशका साथै भारत र भुटानको सहभागिता रहनेछ।

उत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने कार्यक्रम छ। दोस्रो दिन मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकी र बेलुकाको सांस्कृतिक कार्यक्रममा प्रदेश सभा सदस्य गोपाल तामाङ प्रमुख अतिथि रहनेछन्।

उत्सवमा दार्जिलिङ, कुचबिहार तथा नेपालका चर्चित कलाकारहरूको सांस्कृतिक प्रस्तुति, लोकनृत्य प्रतियोगिता, मानव–हात्ती द्वन्द्व न्यूनीकरण विषयक बहस, अन्तरसीमा पर्यटन र जैविक कृषि संवाद तथा रैथाने उत्पादनका स्टल रहने आयोजकले जनाएको छ।
यसै अवसरमा सिक्किमको “Discover Temi” संस्थासँग तीन वर्षे पर्यटन समझदारी (MOU) हुने तथा बाहुन्डागी क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत सडक टाइल्स बिछ्याइने घोषणा पनि गरिनेछ। आयोजक समितिले उत्सवमार्फत कोशी प्रदेश भ्रमण वर्ष २०८२को प्रचार–प्रसार गर्ने लक्ष्य लिएको जनाएको छ।


