Aamsanchar

सभापति देउवा भृकुटीमण्डप जाने सूचना गलत : सचिवालय

Author Image
सोमवार, पौष २८, २०८२

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र आजबाट सुरु हुँदैछ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सुरु गरेको विशेष महाधिवेशनको आइतबार उद्घाटन सत्र भएको थियो। तर, उद्घाटन सत्रमा महामन्त्रीभन्दा माथिल्लो तहका नेताहरु सहभागी भएनन्।

विशेष महाधिवेशनको बन्दसत्रमा भने सभापति शेरबहादुर देउवा सहभागी हुने सूचना प्रचार गरिएपनि त्यसमा सत्यता नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ।

सभापति देउवा भृकुटीमण्डपमा आज जाने सूचनाबारे केही व्यक्तिहरूले सामाजिक सञ्जालमा भ्रम फैलाएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

 

देउवाको सचिवालयले भनेको छ, ‘सामाजिक सञ्जालमा केही व्यक्तिहरुले भ्रम फैलाउने उद्देश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौं।’

महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा बिहान १० बजेदेखि बन्द सत्र सुरू हुनेछ। आज बन्द सत्रको सुरुमा विशेष महाधिवेशनको कार्याविधि बनाउने तालिका रहेको छ। त्यसपछि ९ वटा समूह निर्माण गरेर विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि छलफल हुने पोखरेलले जानकारी दिए।

महाधिवेशन प्रतिनिधिको नाम दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहने बताइएको छ। कांग्रेस स्रोतका अनुसार बाहिर संख्याको दाबी गरिएजस्तो हालसम्म महाधिवेशन प्रतिनिधिको नामावली दर्तामा बहुमत पुग्न सकेको छैन।

Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर