Aamsanchar

बिर्तामोडमा पत्रकार सम्मेलन गरेर देवराज घिमिरेले भने : प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प उपयुक्त

Author Image
मङ्गलवार, पौष २९, २०८२

झापा-  सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प उपयुक्त रहेको बताएका छन् । मंगलबार झापा निर्वाचन क्षेत्र नम्बर २ मा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन् ।

सभामुख घिमिरेले भनेका छन्, ‘यो विषम परिस्थितिमा संविधानलाई लिकमा चढाएर हिँडाउनु हामी सबैको दायित्व हो । यसका लागि दुई वटा विकल्पहरू अहिले हाम्रो सामु देखिएका छन् । पहिलो संसद् पुनर्स्थापना गरेर तत्कालीन आन्दोलनकारीका जायज मागहरू कानुन संशोधन मार्फत पूरा गर्दै निर्वाचनमा जाने र दोस्रो, अहिल्यै निर्वाचनमा जाने र नयाँ जनादेश लिने ।’

यी दुईमध्ये संसद् पुनर्स्थापनाको विकल्प उपयुक्त रहेको भन्दै उनले अदालतबाट छिटो फैसला हुनुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘यी २ मध्ये पहिलो विकल्प (संसद् पुनर्स्थापना) उपयुक्त हो भन्ने ठानेको छु । र यो विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेकाले थप केही भन्न त चाहन्न, तथापि छिटो फैसला होस् भन्ने अपेक्षा राख्दछु ।’

गत भदौ २७ गते प्रतिनिधिसभा विघटन भएको थियो । प्रतिनिधिसभा विघटन भएर आगामी २१ फागुनका लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तय भएको छ । निर्वाचन आयोगले निर्वाचन तालिका अनुसार समानुपातिक तर्फको उम्मेदवारी दर्ता गराइसकेको छ । प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता आगामी माघ ६ गतेका लागि तय भएको छ ।

प्रत्यक्ष तर्फको मनोनयनको दिन आउन केही दिन मात्रै बाँकी रहँदा सभामुख घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाको लविइङमा छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा समेत मुद्दा परेको छ । त्यही बिचाराधीन मुद्दालाई देखाएर सभामुख घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला छिटो होस् भन्ने आफ्नो अपेक्षा रहेको बताएका हुन् ।

Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर