

काठमाण्डौ – आज काठमाण्डौका विभिन्न ठाउँमा बिजुली नआउने भएको छ । नेपाल विद्युत प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा बिजुली काटिने जनाएको हो ।

प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भङ्गाल फिडर र शिवपुरी फिडर मातहतका क्षेत्रमा बिजुली आपूर्ति बन्द हुनेछ । फिडरको भार (लोड) मिलाउन तथा नयाँ पासिकोट फिडर निर्माण गरी ब्रेकर तथा भूमिगत तार चार्ज गर्ने प्रयोजनका लागि बिजुली काट्न लागिएको हो ।
सूचना अनुसार गणेशस्थान फिडरमा आज बिहान साढे ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म भोटे चोक, गणेशस्थान आसपासका क्षेत्रका बिजुली काटिनेछ । त्यस्तै भङ्गाल फिडरको तल्लो भङ्गाल, धोविखोला करिडोरलगायत क्षेत्रमा बिहान साढे ११ बजेदेखि दिउँसो १ बजेसम्म बिजुली काटिनेछ ।

यसैगरी शिवपुरी फिडरको बुढानिलकण्ठ नगरपालिकाको पासिकोट, च्यासिङडोललगायत क्षेत्रमा दिउँसो १ बजेदेखि २ बजेसम्म बिजुली काटिने सूचनामा उल्लेख छ ।

