प्रदेश संरचना खारेज गर्दै सनातन संवैधानिक राजसंस्था स्थापना गर्न आह्वान गरिएको सामूहिक मोबाइल सन्देश प्रकरणमा एक व्यक्ति पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले चितवन स्थायी घर भएका ३४ वर्षीय निर्देश सेढाईंलाई मंगलबार राति काठमाडौँको हात्तीसार क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यका अनुसार सेढाईंले नेपाल टेलिकमको गेटवे प्रयोग गरी ‘एटी अलर्ट’ प्रणालीमार्फत करिब ५० लाख मोबाइल नम्बरमा एसएमएस पठाएका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा सेढाईंले ठूलो संख्यामा सन्देश पठाएको कुरा स्वीकार गरेका छन् ।

प्रहरीका अनुसार ती सन्देशमार्फत जनतालाई त्रसित बनाउने तथा निषेधित क्षेत्रमा भेला हुन उक्साउने प्रयास गरिएको ठहर गरिएको छ । सेढाईंले पठाएको सन्देशमा प्रदेश संरचना हटाई प्रत्यक्ष निर्वाचित व्यवस्थासहित सनातन संवैधानिक राजसंस्था स्थापना गर्न आह्वान गरिएको उल्लेख छ ।
सन्देशमा पुस ३० गते दिउँसो १२ बजे बालुवाटारमा उपस्थित हुन आग्रह गरिएको थियो । निषेधित क्षेत्रभित्र अनिश्चितकालीन उपस्थितिका लागि आह्वान गरिएको भन्दै सेढाईंमाथि सार्वजनिक हितविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइने एसपी आचार्यले जानकारी दिए ।



