Aamsanchar

अमेरिकापछि इजरायल पनि संयुक्त राष्ट्रसंघका विभिन्न एजेन्सीबाट अलग

Author Image
बुधवार, पौष ३०, २०८२

काठमाडौं – अमेरिकापछि इजरायल पनि संयुक्त राष्ट्रसंघका विभिन्न एजेन्सीबाट अलग भएको छ ।

इजरायलले यी एजेन्सीले लगातार आफूविरुद्ध पक्षपातपूर्ण व्यवहार गरेको र राजनीति गरिरहेको आरोप लगाउँदै अलग भएको घोषणा गरेको हो ।

गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ६६ वटा अन्तर्राष्ट्रिय संगठन र सन्धिबाट अमेरिकालाई फिर्ता बोलाएका थिए । जसमध्ये आधा संयुक्त राष्ट्र संघका थिए । ट्रम्पले ती एजेन्सीहरूले अमेरिकाको हितविपरीत काम गरिरहेको आरोप लगाएका थिए ।
इजरायलको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “संयुक्त राष्ट्रसंघका थुप्रै संगठनबाट अमेरिका पछाडि हटेपछि हामीले पनि यसको समीक्षा गर्‍यौँ । त्यसपछि इजरायली विदेशमन्त्री गिदोन सारले इजरायलले तत्काल प्रभाव देखिने गरी संयुक्त राष्ट्रसंघ र धेरै अन्तर्राष्ट्रिय संगठनसँग अलग हुने निर्णय गरेका छन् ।”
साथै, विदेश मन्त्रीले मन्त्रालयलाई अन्य एजेन्सीहरूसँगको सम्बन्धको पनि समीक्षा गर्न निर्देशन दिएको र छलफलपछि थप निर्णय लिइने मन्त्रालयले उल्लेख गरेको छ ।

इजरायल अलग भएका प्रमुख राष्ट्र संघका संगठनमा चिल्ड्रेन एन्ड आर्मड कन्फ्लिक्ट अफिस, यूएन वुमन, यूएन कन्फरेन्स अन ट्रेड एन्ड डेभलपमेन्ट, यूएन इकोनोमिक एन्ड सोसल कमिसन फर वेस्टर्न एसिया, यूएन एलायन्स अफ सिभिलाइजेसन, यूएन इनर्जी, माइग्रेसन एन्ड डेभलपमेन्ट ग्लोबल फोरम आदि छन् ।

इजरायल सरकारका अनुसार चिल्ड्रेन एन्ड आर्मड कन्फ्लिक्ट ले इजरायली सेनालाई हमास र प्यालेस्टाइनसँगै ‘कालो सूची’मा राखेका कारण इजरायल यो संगठनबाट हट्ने निर्णय गरेको हो ।

त्यस्तै, यूएन वुमन संगठनले इजरायली महिलामाथि हमासद्वारा गरिएको यौन शोषणलाई बेवास्ता गरेको इजरायलको आरोप छ ।

Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर