

काठमाडौं – अमेरिकाले नेपाल, अफगानिस्तान, इरान, रुस र सोमालियालगायत ७५ देशका नागरिकका लागि आप्रवासी भिसा (इमिग्रेन्ट भिसा) प्रक्रिया निलम्बन गर्ने घोषणा गरेको छ ।

ट्रम्प प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा बसोबास गर्दा सार्वजनिक सहायता (पब्लिक एसिस्टेन्स)मा निर्भर हुन सक्ने सम्भावना रहेको भन्दै बुधबार यस्तो निर्णय लिएको हो ।
विदेशमन्त्री मार्को रुबियोको नेतृत्वमा रहेको विदेश मन्त्रालयले कन्सुलर अधिकारीहरूलाई गत नोभेम्बरमा जारी गरिएको बृहत् आदेशअनुसार प्रभावित देशका आप्रवासी भिसा आवेदनहरू रोक्न निर्देशन दिएको छ । उक्त आदेशले अमेरिकामा सार्वजनिक बोझ बन्नसक्ने सम्भावित आप्रवासीहरूका लागि नियमहरू कडा बनाएको थियो ।

यो कदम प्रशासनले यसअघि नै करिब ४० देशहरूमा लगाएको अध्यागमन तथा यात्रा प्रतिबन्धकै निरन्तरता भएको जनाएको छ । यो निर्णय विदेशीहरूका लागि अमेरिकी प्रवेश मापदण्ड कडा पार्ने राष्ट्रपति ट्रम्पको जारी प्रयासको हिस्सा भएको बताइएको छ ।
मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “ट्रम्प प्रशासनले अमेरिकी जनताको सम्पत्ति दोहन गर्नेहरूद्वारा भइरहेको अमेरिकी अध्यागमन प्रणालीको दुरुपयोगलाई अन्त्य गर्दै छ । यी ७५ देशबाट हुने आप्रवासी भिसा प्रक्रिया तबसम्म रोकिनेछ, जबसम्म विदेश मन्त्रालयले कल्याणकारी तथा सार्वजनिक सुविधाहरू लिने विदेशी नागरिकको प्रवेश रोक्नका लागि अध्यागमन प्रक्रियाको पुनः मूल्यांकन गर्दैन ।”
आगामी जनवरी २१ देखि सुरु हुने यो निलम्बन ‘गैर–आप्रवासी’ भिसा अर्थात् अस्थायी पर्यटक वा व्यापारिक भिसा खोज्नेहरूका हकमा लागु हुने छैन । सन् २०२६ को विश्वकप र २०२८ को ओलम्पिकजस्ता ठूला खेलकुद प्रतियोगिताहरूको आयोजना अमेरिकाले गर्ने भएकाले आगामी महिना र वर्षहरूमा गैर–आप्रवासी भिसाको माग नाटकीय रूपमा बढ्ने अपेक्षा गरिएको छ ।
गैर–आप्रवासी भिसा आवेदकहरूको जाँचका लागि निर्देशन
सबै अमेरिकी दूतावास र कन्सुलर कार्यालयहरूलाई पठाइएको छुट्टै सूचनामा गैर–आप्रवासी भिसा आवेदकहरूले पनि अमेरिकामा सार्वजनिक सुविधाहरू खोज्नसक्ने सम्भावनाबारे अध्ययन गर्न भनिएको छ ।
सोमबार पठाइएको एक ‘केबल’ (आधिकारिक पत्र)मा भनिएको छ, “अमेरिकाभरि सार्वजनिक सुविधामा भइरहेको व्यापक ठगी बाहिर आएपछि, ट्रम्प प्रशासन सार्वजनिक सुविधा कार्यक्रमहरूमा हुने ठगी रोकथाम गर्न पूर्ण रूपमा केन्द्रित छ ।”
एसोसिएटेड प्रेसले प्राप्त गरेको उक्त पत्रमा कन्सुलर अधिकारीहरूलाई अमेरिका यात्रा गर्न चाहने विदेशीहरूले भिसा पाउनुअघि सार्वजनिक सेवामा निर्भर हुनेछन् कि छैनन् भन्ने कुराको पूर्ण रूपमा जाँच र स्क्रिनिङ सुनिश्चित गर्न आग्रह गरिएको छ ।
पत्रमा आवेदक स्वयंले आफू अमेरिकामा रहँदा सार्वजनिक सुविधाहरूका लागि आवेदन नदिने प्रमाणित गर्नुपर्ने उल्लेख छ । यदि, अधिकारीहरूलाई आवेदकमाथि शंका लागेमा उनीहरूलाई आफ्नो आर्थिक स्थिति प्रमाणित गर्ने फारम भर्न लगाइनेछ ।
कन्सुलर अधिकारीहरूले व्यक्तिगत विवरणहरूको गहन अध्ययन गर्नुपर्ने
नोभेम्बरको निर्देशिकामा आधारित बुधबारको यो निर्णयले दूतावासका अधिकारीहरूलाई भिसा आवेदकको व्यापक र विस्तृत जाँच गर्न निर्देशन दिएको छ । आवेदकले अमेरिका प्रवेश गरेपछि कुनै पनि समयमा सरकारबाट सार्वजनिक सुविधाहरूमा निर्भर हुनुपर्ने छैन भनेर प्रमाणित गर्नुपर्नेछ ।
यद्यपि, संघीय कानुनले पहिले नै स्थायी बसोबास वा कानुनी हैसियत खोज्नेहरूलाई आफू सार्वजनिक बोझ नहुने प्रमाणित गर्न आवश्यक बनाएको थियो । ट्रम्पले आफ्नो पहिलो कार्यकालमै आवेदकलाई अयोग्य ठहर्याउन सक्ने सुविधा कार्यक्रमहरूको दायरा फराकिलो बनाएका थिए । हालको नयाँ निर्देशिकाले यसको दायरालाई अझ विस्तार गरेको छ ।
अमेरिका प्रवेश गर्न चाहने आप्रवासीहरूले पहिले नै अमेरिकी दूतावासद्वारा अनुमोदित चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउनुपर्छ । उनीहरूको क्षयरोगजस्ता सरुवा रोगहरूको जाँच गरिन्छ र लागूऔषध वा मदिरा सेवनको इतिहास, मानसिक स्वास्थ्य अवस्था वा हिंसासम्बन्धी विषय खुलाउन भनिन्छ । उनीहरूलाई विभिन्न खोपहरू लगाउन पनि अनिवार्य गरिएको छ । एपी

