

झापा – झापाको कनकाईमा पिकअप गाडी र बस ठोक्किदा आमा र छोराको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ८ की ४० वर्षीया सुस्मा राजवंशी र उनकी डेढ वर्षीय बालक आरुती राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका -३ स्थित नयाँ बस्तीमा बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस ठोक्किदा दुर्घटना भएको हो ।
घाइतेको बिर्तामोडस्थित बिएण्डसी अस्पताल र बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । माघ १ गते माघे संक्रान्तिको अवसरमा माई नदीमा ठुलो मेला लाग्ने गरेको छ । उक्त पिकअप गाडीमा माई मेला गएर फर्किएको प्रहरीले जनाएको छ ।


