Aamsanchar

क्यान्सर रोग जित्न सफल भएकाहरूको एक टोली साइकल यात्रामा

Author Image
बिहिवार, माघ १, २०८२

गोरखा – प्राणघातक क्यान्सर रोग जित्न सफल भएकाहरूको एक टोलीले मध्यपहाडी लोकमार्गमा साइकल यात्रा गरेको छ। क्यान्सरबाट पीडित भएकाहरूको आत्मबल बढाउन, क्यान्सरसम्बन्धी सचेतना जगाउन तथा क्यान्सर पीडितहरूको उपचारमा सहयोग गर्ने उद्देश्यले १८०० किलोमिटर लामो दुरी साइकल यात्रा गरेको टोलीका एक यात्री हर्क लामाले जानकारी दिए।

आफूलाई सन् २०२० देखि २०२२ सम्म पिसाब थैलीको क्यान्सरबाट पीडित भई हाल क्यान्सर विजयी भएको भन्दै उनले आफूलाई त्यतिबेला उपचार खर्च तथा मनोबलको ठूलो आवश्यकता परेको महसुस गरी अहिले आफूजस्तै पीडितहरूको सहयोगका लागि साइकलयात्रा गरेको उनको भनाइ छ। ‘त्यतिबेला म आफैंलाई पनि त्यतिबेला क्यान्सरको उपचार गर्न आर्थिक खाँचो परेको र मजस्ता कैयौँ बिरामी आर्थिक अवस्था कमजोर भएका कारण किमो लगाउन समेत नपाएको देखेको थिएँ’, सिन्धुपाल्चोकका लामाले भने, ‘जब म क्यान्सर जितेर उठेँ, फेरि साइकल चलाउन सक्ने भएँ, अनि क्यान्सर पीडितहरूलाई बचाउन कोष खडा गर्नुपर्छ भन्ने सोचेँ।’

आफू लामो दूरीको साइकल चलाउने राष्ट्रिय सर्वविजेता भएकाले साइकल यात्रा गर्ने निर्णय गरेको उनले बताए। ‘म लामो दुरी साइकल चलाउने नेशनल च्याम्पियन भएकाले मैले साइकल यात्राबाटै पूर्व पाँचथरको चुवाभञ्ज्याङदेखि पश्चिम बैतडीको झुलाघाटसम्मको मध्यपहाडी लोकमार्गको १८०० किलोमिटर साइक्लिङ गर्ने निर्णय गरेँ’, उनले भने, ‘त्यसको प्रचार प्रसार गरेर इच्छुकहरूलाई सहभागी हुन अनुरोध गरेँ। मजस्तै क्यान्सर विजेता कविता चित्रकार पनि साइकल यात्रामा सहभागी हुनुहुन्छ। डाक्टर सुमन चित्रकार, डाक्टर विकास पराजुली लगायत १५ जना सहभागी हुनुहुन्छ।’ लामो दूरीको साइकल यात्राको प्रचारप्रसार गरेर गो फण्डबाट २२ लाख रुपैयाँ संकलन भइसकेको लामाले जानकारी दिए।

 

आफूहरूले धुलिखेल अस्पतालमा उपचार गरेकाले सो अस्पतालसँग सहकार्य गरी साइकल यात्रा गरेको उनको भनाइ छ। सो रकमले क्यान्सर पीडितलाई सहयोग गर्न धुलिखेल अस्पतालमा कोष स्थापना गर्ने, त्यस कोषबाट असाध्यै विपन्न क्यान्सर पीडितहरूलाई सहयोग गर्ने लक्ष्य रहेको उनले बताए। ‘हाम्रो अभियानबाट जति रकम संकलन हुन्छ, त्यति नै रकम धुलिखेल अस्पतालले थपिदिने वचन दिएको छ’, उनले भने, ‘साथै हामीले यात्राका क्रममा विभिन्न विद्यालय, क्याम्पस तथा जनमानसहरूमा क्यान्सर सम्बन्धी सचेतना जगाउने, पीडितहरूमा आत्मबल बढाउने कार्य पनि गर्दै आएका छौँ ।’

साइकल कल्चर कम्युनिटी र धुलिखेल अस्पतालको सहकार्यमा यही जनवरी १ बाट यात्रा सुरु भएको र जनवरी महिनाभरिमा यात्रा पूरा गर्ने लक्ष्य रहेको उनको भनाइ छ। यात्रा अवधिभर विभिन्न ठाउँमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविरसँगै जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन हुँदै आएको धुलिखेल अस्पतालका प्रा।डा। सुमन ताम्राकारले बताए। बुधबार गोरखाको आरुघाट आइपुगेको टोली मध्यपहाडी लोकमार्ग हुँदै पालुङटार, सुन्दरबजार हुँदै पोखरा पुगेको छ । यात्रा सम्पन्न गरी संकलित रकम टोलीले आउँदो माघ २१ गते विश्व क्यान्सर दिवसको अवसरमा धुलिखेल अस्पताललाई हस्तान्तरण गर्ने डाक्टर ताम्राकारले बताए ।

 

Views: 27

प्रतिक्रिया (०)