Aamsanchar

निर्वाचन प्रहरीका लागि धनकुटामा मागभन्दा कम आवेदन

Author Image
शुक्रवार, माघ २, २०८२

हिले- माग गरिएभन्दा कम आवेदन परेपछि धनकुटामा निर्वाचन प्रहरीको आवेदन अवधि दुई दिन थप गरिएको छ ।

सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि खटिने निर्वाचन प्रहरीका लागि पुस २५ गतेदेखि माघ १ गतेसम्म दरखास्त आह्वान गरेको थियो । सो अवधिमा धनकुटामा जम्मा ८ सय ७६ जनाको मात्र आवेदन परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

धनकुटाका लागि नेपाल प्रहरीतर्फ नौ सय ८९ जनाको कोटा तोकिएको थियो । तोकिएको सङ्ख्याभन्दा एक सय १३ जना कम आवेदन परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।

आवेदन सङ्ख्या कम भएपछि जिल्ला प्रहरी कार्यालयले थप दुई स्थानबाट पनि आवेदन दिने व्यवस्था मिलाएको छ । अब जिल्ला प्रहरी कार्यालय धनकुटासँगै इलाका प्रहरी कार्यालय छिन्ताङ र इलाका प्रहरी कार्यालय राजारानीबाट समेत आवेदन दिन सकिनेछ । भौगोलिक विकटताका कारण सदरमुकामबाट टाढा रहेका स्थानलाई लक्षित गरी दुई स्थान थप गरिएको डिएसपी कार्कीको भनाइ छ ।

छारागाउँस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेडक्वार्टर छिन्ताङका लागि छुट्याइएको ९६ जनाको कोटामा समेत अपेक्षाकृत आवेदन नपरेको जनाइएको छ । धनकुटामा नेपाल प्रहरीतर्फ नौ सय ८९ र सशस्त्र प्रहरीतर्फ ९६ गरी कुल एक हजार ८५ निर्वाचन प्रहरीको कोटा रहेको छ ।

जतिसक्दो धेरै आवेदकमध्येबाट छनोट गर्न पाउँदा गुणस्तरीय जनशक्ति प्राप्त हुने भए पनि आवेदन सङ्ख्या नबढ्दा छनोट प्रक्रियामै समस्या आउन सक्ने जनाइएको छ । माघ ५ देखि ९ गतेसम्म निर्वाचन प्रहरीको भर्ना छनोट सम्पन्न गरी माघ १२ गते अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी छ । त्यसैगरी माघ १५ गतेदेखि प्रशिक्षण सुरु गर्ने कार्यतालिका रहेको डिएसपी कार्कीले जानकारी दिनुभयो ।

सरकारले प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीलाई प्रहरी जवानसरहको सेवा–सुविधा प्रदान गरी ४० दिन कार्यक्षेत्रमा खटाउने जनाएको छ । निर्वाचन सुरक्षामा खटिने प्रहरीले प्रतिदिन ८ सय ६९ रुपियाँ ४० पैसा भत्ता पाउनेछन् ।

Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर