झापा । विभिन्न आन्दोलन तथा अवाञ्छित गतिविधिका क्रममा लुटिएका हातहतियारहरू धमाधम प्रहरीको नियन्त्रणमा आउन थालेका छन्। यसैक्रममा झापाको दमकबाट एक थान सर्टगनको पार्टपुर्जा प्रहरीले बरामद गरेको छ।

गोप्य सूचनाका आधारमा मिति २०८२ साल माघ २ गते बिहान अन्दाजी १० बजे इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको कमाण्डमा खटिएको प्रहरी टोलीले दमक नगरपालिका–१ स्थित सुकुम्बासी बस्तीमा बसोबास गर्ने डेक बहादुर थापाको टहरामा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा जस्ताको बेराले बनेको र जस्ताकै छानो भएको टहराको भुईँमा बालुवाले पुरेर राखिएको अवस्थामा बटको भागमा १३२०४४७ नम्बर लेखिएको सर्टगनको बटको भाग थान–१ (एक) बेसाबुत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त हातहतियार मिति २०८२ साल भदौ २४ गते न्भल–श् आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटी लगिएको अभिलेखबाट पुष्टि भएको छ। बरामद गरिएको हातहतियारको पार्टपुर्जा कानून बमोजिम नियन्त्रणमा लिई सुरक्षित रूपमा प्रहरी कार्यालयमा राखिएको छ।

घटनामा संलग्न भनिएका डेक बहादुर थापा फरार रहेकाले उनको खोजतलास कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पछिल्लो समय लुटिएका तथा अवैध रूपमा लुकाइछिपाइ राखिएका हातहतियारहरू क्रमशः बरामद हुँदै जानु सुरक्षा दृष्टिले सकारात्मक संकेत भएको प्रहरीको भनाइ छ।


