Aamsanchar

एमालेको प्रत्यक्षतर्फ टिकट वितरणः ओली पक्ष हावी, इतर समूह पन्छियो

Author Image
आइतवार, माघ ४, २०८२

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्दै प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका अधिकांश उम्मेदवार टुंग्याएको छ। शनिबार केन्द्रीय मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले उम्मेदवार चयन गरेको हो।

सार्वजनिक सूचीअनुसार अध्यक्ष ओली झापा–५ बाटै उम्मेदवार बन्नेछन्। उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल पाल्पा–२, पृथ्वीसुब्बा गुरुङ लमजुङ र गोकर्ण बिष्ट गुल्मी–२ बाट चुनाव लड्ने भएका छन्। उपमहासचिव लेखराज भट्ट कैलाली–४ र रघुवीर महासेठ धनुषा–४ बाट उम्मेदवार बनेका छन्।

तर उपमहासचिव योगेश भट्टराईको ताप्लेजुङ क्षेत्रबारे निर्णय हुन सकेन। बैठक स्रोतका अनुसार अध्यक्ष ओली भट्टराईलाई टिकट दिन इच्छुक छैनन्। यद्यपि भट्टराईले पार्टी निर्णयप्रति असन्तुष्टि नजनाई एमाले उम्मेदवारलाई जिताउने अभियानमा लाग्न अपिल गरेका छन्।

इतर समूहका नेताहरू ईश्वर पोखरेल, गोकुल बास्कोटा, विनोद ढकाल, कृष्णगोपाल श्रेष्ठलगायतले टिकट पाएनन्। टिकट वितरणमा ओली पक्ष हावी भएको र मापदण्ड नबनाइएकाले पार्टीभित्र असन्तुष्टि बढ्न सक्ने नेताहरूको भनाइ छ।

महासचिव शंकर पोखरेलको दाङ–२ क्षेत्रबारे समेत निर्णय हुन बाँकी छ। बाँकी क्षेत्रका उम्मेदवारबारे अध्यक्ष ओलीले आवश्यक छलफलपछि निर्णय लिने उपमहासचिव भट्टले बताएका छन्।

Views: 4

प्रतिक्रिया (०)

सम्बन्धित खबर