Aamsanchar

एमाले विपक्षीसँग आँखामा आँखा जुधाएर सवालजवाफ गर्नसक्ने अवस्थामा छ: राजन भट्टराई

Author Image
आइतवार, माघ ४, २०८२

काठमाडौं – नेकपा एमालेका नेता राजन भट्टराईले विपक्षीसँग आँखामा आँखा जुधाएर सवालजवाफ गर्नसक्ने अवस्थामा आफ्नो पार्टी रहेको दाबी गरेका छन् ।

पार्टीको बागमती प्रदेश कमिटीले राजधानीमा आयोजना गरेको विशेष जनप्रदर्शनसहितको सभालाई सम्बोधन गर्ने क्रममा उनले अरु दलहरूभन्दा कमजोर अवस्थामा एमाले नरहेको दाबी गरे ।

‘नेकपा एमालेले अरु राजनीतिक दलभन्दा यो क्षेत्रमा चाहिँ कमी भयो भन्ने अवस्थामा छैनौं । हामी भन्न चाहन्छौं, शिर ठाडो पारेर आँखा जुधाएर विपक्षीहरूसँग सवाल जवाफ गर्नसक्ने अवस्थामा छौं,’ भट्टराईले भने, ‘हामी सबैभन्दा योग्य दल हो भन्ने कुरा जनताकाबीच स्थापित गरेर जानुपर्ने अवस्थामा खेल्नुपर्ने भूमिका, सक्रियता र पहलकदमीको कमजोरीले कता कता नेकपा एमाले रक्षात्मक अवस्थामा पुगेको हो कि भन्ने छ ।’

उनले अहिले उम्मेदवारी दर्ताको समय सर्नसक्ने भन्दै आइरहेका समाचारहरूले निर्वाचन नै अनिश्चयको बाटोमा देखिएको दाबी गरे ।

‘राजनीतिक दल, विशेषगरी नेपाली कांग्रेसभित्र देखिएको अन्तरकलह, विभाजनसम्मको अवस्थाले यो लोकतान्त्रिक प्रणाली, यो संविधान बनाउनका लागि सहकार्य गर्दै आएको प्रमुख पार्टीभित्रको अवस्थाले अनिश्चयको अवस्था पनि देखाएको छ,’ उनले भने, ‘यस्तो दुबिधायुक्त अवस्था देखिएको छ । नेकपा एमालेको सचिवालय बैठकले आफ्नो पार्टीको तर्फबाट १४० वटा निर्वाचन क्षेत्रको उम्मेदवारको टुंगो लगाइसकेको छ । यो १४० क्षेत्रको उम्मेदवारहरू आफ्नो क्षेत्रमा जाने क्रम आजबाट सुरु भइसकेको छ ।’

साथै, उनले आफ्नो पार्टी विधि र प्रणालीमा चलेको पनि दाबी गरे ।

Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर