Aamsanchar

सुशीला बम्जन हत्या प्रकरण : सासू र नन्द पुर्पक्षका लागि थुनामा

Author Image
सोमवार, माघ ५, २०८२

काभ्रपलाञ्चोक – सिन्धुलीको कमलामाई नगरपालिका-४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको घटनामा सासू र नन्दलाई सिन्धुली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

गत पुस ६ गते आफ्नै घरमा सुशीलालाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा सासू मायाँरानी बम्जन र नन्द मीना लामा पक्राउ परेका थिए । पुस ६ गते नै पक्राउ परेका उनीहरुलाई प्रहरीले अनुसन्धानपछि माघ २ गते अदालत पेस गरेको थियो ।

आइतबार जिल्ला न्यायाशीश गेहेन्द्रराज पन्तको इजलासले हत्या आरोपी सुशीलाकी सासू मायाँरानी बम्जन र नन्द मीना लामालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको श्रेस्तेदार चित्रखर अधिकारीले जानकारी दिए ।

अदालतको आदेशपछि आइतबार नै दुवै जनालाई सिन्धुली कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

अर्का अभियुक्त ससुरा दुर्गामान बम्जन भने उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा रहेकाले प्रहरीले पक्राउ गरेको छैन । मुख्य योजनाकार भनिएका श्रीमान् सूर्यबहादुर बम्जन कोरियाबाट नेपाल आएका छैनन् । दुवै जनाविरुद्ध पक्राउ पूर्जि जारी गरिएको छ ।

प्रहरीले प्रारम्भिक बयान, घटनास्थलको अवस्था तथा संकलित प्रमाणका आधारमा अभियुक्तहरूविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।

यस घटनापछि मृतक सुशीलाको न्यायका लागि पीडित परिवार तथा स्थानीयवासीले निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै आएका छन् ।

Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर