

कराँची – पाकिस्तानको सबैभन्दा ठुलो सहर कराँचीमा रहेको गुल प्लाजामा भएको भीषण आगलागीमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जना दमकलकर्मी भएको बताइएको छ ।

दर्जनौँ मानिस अझै बेपत्ता रहेको आशङ्कामा उद्धारकर्मीहरूले खोजी कार्य तीव्र बनाएका छन् । शनिबार राति सुरु भएको आगो निभाउन दमकलकर्मीलाई २४ घण्टाभन्दा बढी समय लागेको थियो ।
करिब ८ हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको यस प्लाजामा झन्डै १ हजार २०० पसल सञ्चालनमा थिए । आगलागीपछि भवनका विभिन्न भाग भत्किएका छन् ।

यसले गर्दा उद्धार कार्यमा कठिनाइ भएको अधिकारीहरूले बताएका छन् । भेन्टिलेसनको अभाव र भग्नावशेषले खोजी कार्यलाई थप जटिल बनाएको छ । परिवारका सदस्यहरूका अनुसार ५८ जना सम्पर्कविहीन छन् ।
बेपत्ता भएका मानिसका आफन्तहरू भवन बाहिर खबर पर्खिरहेका छन् । सहर प्रशासनले बेपत्ताहरूको विवरण सङ्कलन गर्न विशेष डेस्क स्थापना गरेको छ । रेस्क्यु ११२२ का प्रवक्ता हसन खानका अनुसार प्लास्टिक फोम, कपडा र परफ्युमजस्ता ज्वलनशील सामग्रीका कारण आगो तीव्र रूपमा फैलिएको हो ।
भवनबाट आइतबारसम्म पनि धुवाँ निस्किरहेको र यो थप भत्किन सक्ने खतरा रहेको बताइएको छ । सामूहिक विपद् प्रोटोकल लागू गरिएको प्रहरीले जनाएको छ ।


