Aamsanchar

असाम कोकराझारमा साम्प्रदायिक तनाव, सरकारद्वारा इन्टरनेट र मोबाइल सेवा बन्द

Author Image
बुधवार, माघ ७, २०८२

प्रतिकात्मक फायल फोटो ।

आसामको कोकराझार जिल्लामा बोडो र आदिवासी समुदायबीच उत्पन्न तनावका कारण मंगलबारदेखि मोबाइल र इन्टरनेट सेवा अस्थायी रूपमा निलम्बन गरिएको छ। सोमबार राति भएको सवारी दुर्घटनापछि सुरु भएको विवाद मंगलबार साम्प्रदायिक झडपमा परिणत भएपछि प्रशासनले कडा सुरक्षा व्यवस्था अपनाएको हो।

सोमबार राति बोडोल्याण्ड क्षेत्रीय क्षेत्रको करिगाउँमा बोडो समुदायका तीन सदस्य सवार गाडी दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा दुई आदिवासी घाइते भए भने एक जनाको मृत्यु भएको थियो। घटनापछि आक्रोशित भीडले गाडीमा रहेका व्यक्तिमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ। हाल चार जना कोकराझार मेडिकल कलेजमा उपचाररत छन्।

स्थिति नियन्त्रणमा लिन असम प्रहरीसँगै सीआरपीएफ र ¥यापिड एक्सन फोर्स तैनाथ गरिएको छ। आईजीपी अखिलेश सिंहले बीबीसी न्यूज हिन्दीलाई जानकारी दिँदै जिल्लाको अवस्था हाल नियन्त्रणमा रहेको बताएका छन्। उनका अनुसार संवेदनशील क्षेत्रहरूमा फ्ल्याग मार्च गरिएको छ र हालसम्म १९ जनालाई हिरासतमा लिइएको छ। प्रमाणका आधारमा थप पक्राउ गरिने उनले स्पष्ट पारे।

राज्यका अतिरिक्त मुख्य सचिवद्वारा जारी सूचनाअनुसार मंगलबार करिगाउँ नजिकै भीडले राष्ट्रिय राजमार्ग अवरुद्ध गरेको, टायर जलाएको र केही घर तथा कार्यालय भवनमा आगजनी गरेको थियो। करिगाउँस्थित प्रहरी चौकीमा आक्रमण गर्ने प्रयाससमेत भएको जनाइएको छ।

यसैबीच, आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले सामाजिक सञ्जालमार्फत स्थिति सामान्य बनाउन जिल्ला प्रशासन र राज्यका उच्च अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन्। शान्ति र सुरक्षाका लागि आवश्यक परे सेना परिचालन गरिएको पनि उनले उल्लेख गरेका छन्।

बोडोल्याण्ड क्षेत्रीय परिषद्का प्रमुख हाग्रामा मोहिलारीले दुबै समुदायलाई संयम अपनाउन र शान्ति कायम राख्न अपील गरेका छन्।

प्रशासनले हाल अवस्था नजिकबाट अनुगमन गरिरहेको र शान्ति सुरक्षामा कुनै सम्झौता नगर्ने जनाएको छ।

Views: 11

प्रतिक्रिया (०)