Aamsanchar

दमकबाट उठ्यो विद्रोहको स्वर, एमाले युवा नेतृत्वले रोज्यो स्वतन्त्र राजनीति

Author Image
बुधवार, माघ ७, २०८२

दमकको राजनीतिमा पछिल्ला दिनहरू असाधारण रूपमा तातेका छन्। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर मानिने यही शहरमा एमालेको आधार मानिँदै आएको युवा पंक्तिबाटै असहज संकेत देखिन थालेका छन्।

एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका नेतृत्व तहबाटै एकपछि अर्को गर्दै पार्टी परित्यागको श्रृङ्खला सुरु भएको छ। नगर कमिटी अध्यक्ष छवि खतिवडा र सचिव कमलप्रसाद गैरेले पार्टी छाडेको केही समय नबित्दै उपाध्यक्ष विजय तामाङले पनि पद र पार्टीसँगको सम्बन्ध तोड्ने घोषणा गरेका छन्।

तीनै जना पदाधिकारीको साझा गन्तव्य एउटै देखिएको छ—रास्वपा  उम्मेदवार बालेन शाहको चुनावी अभियान। नेतृत्व तहकै प्रभावशाली अनुहारहरू एकैपटक बाहिरिँदा दमकमा एमालेको संगठनात्मक धरातलमा गहिरो कम्पन महसुस गरिएको छ।

यसअघि नै अध्यक्ष खतिवडाले एमालेको संगठित सदस्यता समेत त्याग्दै झापा क्षेत्र नं. ५ मा बालेन शाहको पक्षमा खुला समर्थन जनाएका थिए। उनले परम्परागत राजनीतिले युवाको आकांक्षा सम्बोधन गर्न नसकेको निष्कर्षसहित “परिवर्तनको धार” समात्ने निर्णय गरेको बताएका थिए।

त्यसको लगत्तै सचिव गैरेले पनि सामाजिक सञ्जालमार्फत एमालेको साधारण सदस्य समेत नरहने गरी राजीनामाको घोषणा गरे। अब उपाध्यक्ष तामाङ पनि सोही धारमा उभिएपछि दमकमा एमालेसमर्थक युवाहरू स्वतन्त्र राजनीतिक धारतर्फ मोडिँदै गएको संकेत देखिएको छ।

अध्यक्ष ओलीकै निर्वाचन क्षेत्र र जन्मथलोमा युवा सङ्घको नेतृत्व तह नै पार्टी छाडेर रास्वपा उम्मेदवारको अभियानमा सक्रिय हुनु सामान्य घटना मानिएको छैन। स्थानीय राजनीतिमा यसलाई ‘चेतावनी संकेत’का रूपमा हेरिएको छ।

परम्परागत पार्टी संरचना, निर्णय प्रक्रिया र नेतृत्व शैलीप्रति असन्तुष्ट युवाहरूले स्वतन्त्र राजनीतिलाई विकल्पको रूपमा अघि सारेपछि दमकको एमाले वृत्तमा असहज शान्ति भंग भएको छ। दमक, जहाँ एमालेको ‘लाल किल्ला’को छवि थियो, त्यहीँ आज नयाँ राजनीतिक कथा लेखिन थालेको देखिन्छ।

Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर