Aamsanchar

पाथीभरामा एक करोड अठासी लाख रुपैँया भन्दा बढी भेटी रकम सङ्कलन

Author Image
बिहिवार, माघ ८, २०८२

ताप्लेजुङ-  ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक करोड अठासी लाख रुपैँया बढी भेटी रकम सङ्कलन भएको छ। पाथीभरामा पछिल्लो छ महिनाको अवधि अर्थात् चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा उक्त भेटी रकम सङ्कलन भएको हो।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार छ महिनाको अवधिमा कुल एक करोड ८८ लाख ६० हजार ६०० रुपैँया भेटी सङ्कलन भएको छ। सङ्कलित उक्त भेटी रकम गत साउन महिनादेखि पुस मसान्त सम्मको भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो।

कार्यकारी निर्देशक हाङ्बाङका अनुसार छ महिनाको अवधिमा सबैभन्दा बढी भेटी रकम मङ्सिर र कम भदौ महिनामा सङ्कलन भएको छ। मङ्सिर महिनामा कुल ७५ लाख ४९ हजार १०० रुपैँया र भदौमा नौ लाख ९७ हजार रुपैँया भेटी सङ्कलन भएको हाङ्बाङले बताउनुभयो। उहाँका अनुसार साउन महिनामा १० लाख ३९ हजार रुपैँया , असोजमा ३३ लाख ८२ हजार रुपैँया  भेटी सङ्कलन भएको छ।

यस्तै कात्तिकमा ३४ लाख ४८ हजार ५०० र पुस महिनामा २४ लाख २५ हजार रुपियाँ भेटी रकम सङ्कलन भएको समितिले जनाएको छ। पाथीभरा दर्शनमा आउने भक्तजनले चढाएका तथा दान गरेको भेटी रकम पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन गर्ने गर्दछ। समितिको कार्यकारी निर्देशकको जिम्मेवारीमा हाङ्बाङ आएपछि पाथीभरामा सङ्कलन हुने भेटी रकम मासिक रुपमा सार्वजनिक गर्ने गरिएको छ।

यता छ महिनाको अवधिमा एक लाख तीन हजार १७६ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन्। गत साउन महिनादेखि पुस मसान्त उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो। उहाँका अनुसार देशका विभिन्न जिल्ला र नेपाल बाहिर भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल लगायतबाट पाथीभरा दर्शन गर्नलाई भक्तजन आउने गरेका छन्।

Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर