Aamsanchar

सानोठिमीस्थित बाल सुधार गृहमा दुई पक्षबीच झडप

Author Image
शुक्रवार, माघ ९, २०८२

भक्तपुर – दुई पक्षबीच झडपले भक्तपुरको मध्यपुरथिमि–२ सानोठिमीस्थित बाल सुधार गृह रणमैदान जस्तो देखिएको छ । गएराति बाल सुधार गृहमा राखिएका दुई समूहबीच झडप, आगजनी र तोडफोड भएको थियो । शुक्रबार बिहान बालसुधार गृह पुग्दा इँटा ढुंगाका टुक्रा यत्रतत्र छरिएका थिए ।

स्थिति फेरि भड्किनसक्ने अनुमानमा प्रहरीहरुको तैनाथी बढाइएको छ ।

झडपको जानकारी पाएपछि गएराति नै थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोली सुधारगृह पुगेको थियो । सो टोलीले स्थिति नियन्त्रणमा लिने प्रयास गरे पनि सकेन ।

झडपमा संलग्न बालसुधार गृहका दुवै समूहले प्रहरीमाथि नै ढुङ्गामुढा गरेपछि स्थिति झन् तनावपूर्ण बन्यो । स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जनाको टोली परिचालन गरिएको थियो ।

आक्रोशित समूहले मध्यरातमा आगजनी समेत गरेपछि भक्तपुर र काठमाडौंका दमकल प्रयोग गरी आगो निभाइएको थियो ।

सुधारगृहमा झडप, तोडफोड र आगजनीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

अहिले स्थिति नियन्त्रणमा आए पनि त्यहाँ बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सानोठिमीस्थित बाल सुधारगृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना छन् ।

 

Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर